नयाँ नेता भित्रिँदै गर्दा किसान चिल्लै !

79

वीरगन्ज,मंसिर १५ । राजनीतिकर्मीको पाँचवर्षे बाली भित्रिइसक्दा मध्य तराईका किसानको बाली भने अझै बाँझै छ । असारमा मानो रोपेर मुरी उब्जाउन खेतमा रोपेको किसानको बाली उठाउने समयमै राजनीतिकर्मीको बाली उठाइदिनुपर्ने धपेडीले यो वर्ष मध्यतराईका किसानको बाली अझै भित्रिन सकेको छैन ।
समयमा घरमा बाली भित्र्याउन नपाउँदा सालभर गुजारा चलाउनुपर्ने धानबालीका बाला खेतका गहरामा नै झुरिइएर खसिरहेका छन् । ‘किसानको बाली भित्र्याउन पर्ने समय आफूहरूलाई एक गेंडो अन्न जति पनि सहयोग नगर्ने राजनीतिकर्मीको बाली पहिले उठाइदिन बाध्य भयौं,’ पर्सा जिराभवानी गाउँपालिकाका किसानमध्ये केहीले भने ।

किसानलाई भने अहिले झन् बाली भित्र्याउन चटारो थपिएको छ । ‘नेताका धपेडीमा सघाइदियौं, अब हाम्रो धपेडीमा सघाइदिने कोही छैन,’ किसान रामनरेश यादव गुनासो गर्छन् ।

‘नेताको जय जय भयो, हामी किसान सधैं उस्ताको उस्तै,’ खेतमै भेटिएका लालबहादुर महतोले गुनासो पोखे । पहिलेझैं अहिले कृषि कर्मका लागि श्रमिक पनि पाइ“दैन । सकीनसकी एक दुई जनाका भरमा खेती उठाउन बाध्य हुनुपरेको पर्सा जिराभवानी गाउँपालिका–२ सेढवाका किसान भागवतप्रसाद महतो भन्छन्, ‘तीन दिनदेखि कसरी बाली उठाइसक्ने भन्ने तनावले हैरान पारेको छ ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Leave a Reply