यी चर्चित अनुहार हरु जसलाई जनताले पत्याएनन

195

काठमाडौं,७ मंसिर । आमनिर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी रहँदा केही चर्चित उम्मेदवारले हारको सामना गर्नुपरेको छ। काठमाडौँको तीनवटा निर्वाचन क्षेत्रको परिणाम आउँदा रवीन्द्र मिश्र, डा राजन भट्टराई, रमेश खरेल, मिलन पाण्डे र पुकार बमले हार बेहोरेका छन्। मिश्र, भट्टराई र पाण्डे आमनिर्वाचन २०७४ मा समेत चर्चित रहेका थिए। खरेल भने आफैँ दल दर्ता गरी पहिलो पटक निर्वाचनमा स्पर्धा गरेका थिए ।

निर्वाचन आयोगका अनुसार काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित भएका छन्। वरिष्ठ उपाध्यक्ष पोखरेल यसअघि २०७४ को आमनिर्वाचनमा काठमाडौँ–५ बाटै निर्वाचित भएका थिए । सो निर्वाचनमा उनले नेपाली कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरेका थिए ।

काठमाडौँ–४ मा नेकपा (एमाले)का राजन भट्टराईले १३ हजार ८५५ मत ल्याएका छन्। उनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २१ हजार ३०२ मत ल्याएर पराजित गरेका हुन् ।

काठमाडौँ–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका रवीन्द्र मिश्र लगातार दोस्रो पटक नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहसँग पराजित भएका छन् ।

सोही क्षेत्रबाट नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलसमेत उम्मेदवार थिए। उनले दुई हजार १३० मत प्राप्त गरेका छन् ।

अर्का चर्चित युवा मिलन पाण्डेले समेत लगातार दोस्रो पटक हार बेहोरेका छन्। विवेकशील साझाका पाण्डे काठमाडौँ–९ बाट उम्मेदवार थिए। गोरखापत्र दैनिकबाट

Leave a Reply