प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले आफ्नो करिब पाँच बर्षे कार्यकालमा विकास निर्माणका लागि धनकुटामा ३० अर्ब भन्दा बढी बजेट ल्याएको दावी गरेका छन् । आफ्नो कार्यकालमा भएका विकास निर्माणका गतिविधि सार्वजनिक गर्न सांसद राईले आज धनकुटामा पत्रकार सम्मेलन गरेर यस्तो दावी गरेका हुन् ।
आर्थिक बर्ष २०७५-०७६ देखि हालसम्म ३० अर्ब ६१ करोड ५५ लाख ५० हजार बजेट धनकुटामा भित्र्याउँन सफल भएको सांसद राईको भनाई छ । राष्ट्रिय गौरवको आयोजना अरुण करिडोर (चतरा–लेगुवाघाट) निर्माण प्रकृया थालनीदेखि प्रदेशकै नमुना विद्यालय निजामति आवासिय विद्यालयको भवन निर्माण, जिल्लाका अन्य विद्यालयका भवन, स्वास्थ्य चौकी, सडक विस्तार जस्ता विकासका काम आफ्नो पहल र प्रयत्नमा भएको सांसद राइले बताए । अरुण करिडोड निर्माणका लागि ७ अर्ब बजेट निनियोजन गराउँन सफल भएको भन्दै उनले खुशी व्यक्त गरे ।
आर्थिक बर्ष २०७५-०७६ मा २ अर्ब ७६ करोड १० लाख ५० हजार, २०७६-०७७ मा १ अर्ब ६३ करोड ४१ लाख ५० हजार, २०७७-०७८ मा ३ अर्ब २ करोड ८८ लाख ५० हजार, २०७८-०७९ मा १२ अर्ब ७९ करोड ७५ लाख र चालु आर्थिक बर्ष २०७९-०८० मा ३ अर्ब ३९ करोड ४० लाख बजेट ल्याउँन सफल भएको उनले बताए ।