बेलायतकी महारानी एलिजावेथको निधन

122

काठमाडौं, भदौ २४ । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ । बेलायतको बकिंघम राजप्रासादले महारानीको निधन भएको घोषणा गरेको हो । उनी ९६ वर्षकी थिइन्। उनको निधन स्कटल्याण्ड स्थित बाल्मोरल काशलमा भएको हो जहाँ उनले ग्रीष्मकालीन समय बिताएकी थिइन् ।

उनका चारजना सन्तान, उनको उत्तराधिकारी प्रिन्स अफ वेल्स समेत अन्तिम समयमा उनको साथमा थिए । उनी बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी थिइन् । उनी ७० वर्षसम्म गद्दीनसीन थिइन् ।

बिहीबार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए ।
रानीको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन्। रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने बेलायती संचारमाध्यमले जनाएका छन् । त्यस्तै राष्ट्रिय शोकको अवधि पनि सुरु भएको छ। करिब १० दिनमा उनको अन्तिम संस्कार गरिनेछ।

उनको शवलाई बकिङ्घम प्यालेसमा सारिने बताइएको छ। उनको सम्मानमा फुटबल, क्रिकेटजस्ता खेल पनि रोकिन सक्ने बताइएको छ। महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन् ।

एलिजाबेथ एलेक्जेण्ड्रा मेरी विन्डसर सन् १९२६ एप्रिल २१ मा लन्डनको बर्कली स्क्वायर नजिकैको घरमा जन्मिएकी थिइन् । उनी जोर्ज पाचौँका दोस्रो छोरा अर्थात् ’ड्यूक अफ योर्क’ अल्बर्ट र उनकी पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुन् ।

एलिजाबेथ र सन् १९३० मा जन्मिएकी उनकी बहिनी मार्गरेट रोज दुवै जनाको शिक्षादीक्षा घरमै भएको थियो र उनीहरु मायालु पारिवारिक वातावरणमा हुर्किएका थिए । एलिजाबेथ आफ्ना पिता र हजुरबुबा जोर्ज पाचौँसँग अत्यन्तै निकट थिइन् । छ वर्षको उमेरमा एलिजाबेथले आफ्ना घोडा प्रशिक्षकलाई आफू थुप्रै घोडा र कुकुर भएकी कन्ट्री लेडी बन्न चाहेको बताएकी थिइन् ।

Leave a Reply