२४ सय घर परिवार उद्धारको पर्खाइमा

363

विराटनगर, साउन १९ । सप्तकोसी नदी ३४ वर्षपछि पुरानै धारमा फर्किएको छ । कोसीले पुरानै बाटो पहिल्याउँदा सप्तरी र उदयपुरका दर्जनौं बस्ती डुबानमा परेका छन् ।

सप्तकोसीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका बस्ती डुबाएको हो । अहिले जहाँ कोसीको बाढी पसेको छ २०४५ सालअघि यही ठाउँबाट कोसी बग्ने गरेको स्थानीयले बताएका छन् ।

०४५ सालको भूकम्पपछि कोसीले बिस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लागेको थियो। कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछिबाट बस्ती बसेको थियो । अहिले कोसीले धार परिवर्तन गरी पुरानै ठाउँमा आएपछि त्यहाँ बसेका बस्ती प्रभावित भएका हुन् ।

बेलका नगरपालिकाका स्थानीयका अनुसार वडा नम्बर १, २, ३, ४, ८ र ९ का बस्ती बाढीले प्रभावित भएको छ । बाढीले बेलकामा मात्रै करिब २० हजार मानिस प्रभावित भएको उनीहरूको भनाइ छ । बेलका–३ मा मात्र ९ सय घर प्रभावित भएको स्थनीयले बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बाँधे पनि बाढीले कटान गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विद्यालय र सार्वजनिक भवनहरूमा पनि बाढी प्रभावितलाई राख्ने तयारी गरेको छ । बाढी विस्थापितहरू अहिले आफन्तकोमा शरण लिइरहेका छन् ।

यता सप्तकोसी नदीको तटबन्ध फुटेर बाढी गाउँ पस्दा सुनसरी र उदयपुर जिल्लाका दुई स्थानीय तहका सयौं मानिस बाढीमा फसेका छन् ।

बुधबार बिहान बाँध फुटेर गाउँमा बाढी पस्दा सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ का २१ सय परिवार र उदयपुरको बेलका नगरपालिका वडा नम्बर १, २, ३, ८ र ९ का ४ हजार घर परिवार प्रभावित भएका छन् । यस्तै बाढीमा फसेका करिब २४ सय घरधुरीको अझै उद्धार हुन सकेको छैन ।

बस्तीलाई बाढीले टापुमा परिणत गरिदिएपछि उनीहरूको उद्धार हुन नसकेको हो । बाढीमा फसेकाहरूलाई सशस्त्र प्रहरीको दुईवटा ढुंगाले उद्धार प्रयास गरिरहेको छ । नेपाल समाचारपत्र दैनिकबाट

Previous articleबजेटबारे जानकारी नदिने स्थानीय तहको संख्या १ सय ४७
Next articleबैंकहरूलाई तत्काल ब्याजदर बढाउन दबाब

Leave a Reply