‘टेलिकम कम्पनी अफ द इयर’ बाट एनसेल सम्मानित

532

काठमाडौं, ६ चैत |एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसियटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ । कम्पनीले गरेका उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाको सम्मानस्वरूप यी पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

बजारमा विभिन्न चुनौतीका बीच उत्कृष्ट प्रदर्शन गर्ने एसिया प्यासिफिक क्षेत्रका कम्पनीहरूलाई ‘एसियन टेलिकम अवार्ड २०२२’ले सम्मान गरिएको आयोजकले जनाएको छ । नेपालमा भरपर्दो सेवा प्रदान गर्नुका साथै कोभिड–१९ को महामारीमाझ देशभर विभिन्न आम सञ्चारमाध्यम तथा आफ्नै नेटवर्क प्रयोग गरी सरकारलाई जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएवापत एनसेललाई ‘टेलिकम कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको बताइएको छ । त्यस्तै, सरकारको डिजिटलाइजेसन योजनाको मेरुदण्डका रूपमा रहने विश्वस्तरीय डेटा सेन्टर स्थापनाका लागि एनसेललाई ‘इन्फ्रास्ट्रक्चर इनिसियटिभ अफ द इयर’ पुरस्कारबाट सम्मानित गरिएको हो ।

“प्रतिष्ठित एसियन टेलिकम अवार्ड २०२२ का दुई विधाबाट सम्मानित हुन पाएकोमा हामी अत्यन्तै हर्षित छौं । यो सम्मानले देश र जनताका लागि हामीले गरेका पहलकदमी र योगदानलाई प्रमाणीकरण गरेको छ । हामीले सन् २०२० देखि कोभिड–१९ महामारीविरुद्ध गरेका काम र डिजिटलाइजेसन यात्रामा हाम्रो निरन्तर योगदानको सम्मान पनि हो,“ एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, “हाम्रा उपलब्धिहरू हामीले स्थापित गरेका बलिया आधारका कारण सम्भव भएका हुन् । म सम्पूर्ण कर्मचारीलाई समर्पण र उत्कृष्ट कामका लागि धन्यवाद दिन चाहन्छु ।’

सिंगापुरमा अवस्थित ‘एसियन मोबाइल न्युज’ले सन् २००३ देखि ‘एसियन टेलिकम अवार्ड’ प्रदान गर्न सुरु गरेको थियो । यस अवार्ड कार्यक्रमले एसियाका अग्रणी दूरसञ्चार कम्पनीका उत्कृष्ट उपलब्धि र पहललाई मान्यता दिँदै पुरस्कृत गर्छ । यस अवार्ड अन्तर्गत विभिन्न विधाका विजयी कम्पनीलाई हालै एक भर्चुअल कार्यक्रममार्फत सम्मानित गरिएको थियो ।

एनसेलले सरकारलाई कोरोनाभाइरस रोकथामका लागि ‘कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु १० करोड योगदान गरेको थियो।

पूर्वाधारको क्षेत्रमा एनसेलले भूकम्पीय जोखिमको दृष्टिकोणबाट अतिसंवेदनशील मानिने काठमाडौं उपत्यकामा विश्वस्तरीय ‘टियर थ्री’ मापदण्डको ‘इन्टिग्रेटेड डेटा सेन्टर’ पनि स्थापना गरेको छ । यो पूर्वाधारले भूकम्पको विपद्का बेलामा पनि भरपर्दो सेवा प्रवाहमा योगदान पुर्याउनेछ ।

Previous articleम्यादीमा भर्ती हुन दुधे बच्चा बोकेर फारम भर्ने लाइनमा
Next articleपाँच वर्षमा भारतमा ४२ अर्ब डलर लगानी जापानले गर्ने

Leave a Reply