माल्दिभ्सविरुद्ध नेपाल पुरुष भलिबल टोलीको बदला

154

काठमाडौं, ११ पुस

घरेलु भूमिमा सन् २०१९ मा बेहोरेको हारको बदला लिँदै नेपाल पुरुष भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आइतबार माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको छ ।

ढाकामा भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो । मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, हरि हजुर थापा, विनोद चन्दले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले माल्दिभ्सलाई सहजै पराजित गर्‍यो ।

नेपालले प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २७–२५ले आफ्नो नियन्त्रणमा राख्यो । दोस्रो सेटमा समेत माल्दिभ्सविरुद्ध दबाब बनाउँदै २५–१९ ले जित्यो । अन्तिम तथा निर्णायक सेटमा समेत आफ्नो लयलाई निरन्तरता दिँदै २५–२३ ले जित हात पार्‍यो ।

जितसँगै नेपालले घरेलु भूमिमा बेहोरेको सोझो सेटको बदला समेत लियो । जितपछि नेपालले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्न सम्भावना कायम छ ।

यसअघि प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपाली टोली आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको थियो । त्यसपछिका खेलमा उज्बेकिस्तानलाई सोझो सेटमा हराए पनि श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा ४ खेल खेलेको नेपालले दुई जित र दुई हार बेहोर्दै ६ अंक जोडेको छ । आज नै भएको महिला तर्फको खेलमा उज्बेकिस्तानलाई सोझो सेटमा पराजित गर्दै महिला टोली फाइनल प्रवेश गरेको छ । २ खेल खेलेका बंगलोदेश र श्रीलंकाको समेत ६ अंक रहेको छ ।

Leave a Reply