अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकालाई

54

बैतडी, ८ मंसिर

बैतडीको पञ्चेश्वरमा सम्पन्न अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । आज भएको फाइनलखेलमा सिगासलाई ३–२ को सेटले पराजित गर्दै मेलौलीले उपाधि हात पारेको हो ।

उपाधिसँगै मेलौलीले १ लाख १० हजार १ सय १ रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सिगासले ७५ हजार १ सय १ रुपैयाँ कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

मेलौलीले दशरथचन्द नगरपालिकालाई हराएर फाइनलमा प्रवेश गरेको हो भने सिगास पञ्चेश्वर गाउँपालिकालाई हराउँदै फाइनलमा पुगेको हो ।

त्यसैगरी मेलौली नगरपालिकासँग पराजित भएको दशरथचन्द नगरपालिका तृतीय भएको छ । उसले तृतीय स्थानका लागि पञ्चेश्वर गाउँपालिकासँग भिडन्त गरेको थियो । पञ्चेश्वर गाउँपालिकालाई दुई एकको सेटमा हराउँदै दशरथचन्द नगरपालिका तृतीय भएको हो ।

तृतीय स्थान हासिल गरेको दनपाले ५० हजार १ सय १ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्त्वना स्थान हासिल गरेको पञ्चेश्वर ए ले ३० हजार १ सय १ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यही पुस ५ गते बाट सुरु भएको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो । पञ्चेश्वर गाउँपालिकाको आयोजनामा भएको यो प्रतियोगिता जिल्लाकै ठूलो धनराशिको भएको दाबी गरिएको छ ।

Leave a Reply