तनहुँका स्थानीय तहबाटै मतदाता नामवली संकलन

330

तनहुँ, १७ मंसिर

तनहुँमा शक्रबार आजदेखि स्थानीय तहबाटै मतदाता नामवली संकलन हुँदैछ ।  जिल्ला निर्वाचन कार्यालयले झण्डै तीन हप्तासम्म स्थानीय तहबाट मतदाता नामावली संकलनको व्यवस्था मिलाएको हो ।

नागरिकको सहजताका लागि स्थानीय तहबाट मतदाता नामावली संकलनको व्यवस्था मिलाएको कार्यालय प्रमुख हरिप्रसाद ढकालले बताए । ‘निर्वाचन कार्यालय र जिल्ला प्रशासनबाट निरन्तर मतदाता नामावली संकलन भइरहेको छ । यहाँसम्म आउन नसक्नेलाई स्थानीय तहबाट सेवा दिँदैछौँ’, उनले भने ।

जिल्लाका नौ स्थानीय तहमा दुई चरणमा मतदाता नामावली संकलन गरिने ढकालले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा शुक्रबारदेखि जिल्लाका भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, देवघाट, बन्दीपुर र म्याग्दे गाउँपालिकामा अभियान चल्नेछ । यी पालिकामा २६ मंसिरसम्म मतदाता नामावली संकलन हुनेछ ।

दोस्रो चरण अन्तर्गत २९ मंसिरदेखि  ९ पुससम्म शुक्लागण्डकी र भानु नगरपालिका, ऋषिङ र आँबुखैरेनी गाउँपालिकामा मतदाता नामावली संकलन हुनेछ । व्यास नगरपालिकाको केन्द्र सदरमुकाम दमौली बजारमा रहेकाले मतदाता नामावली संकलन गर्न कार्यालयबाट टोली खटिने छैन् । व्यास वासीले जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाटै सेवा लिनेछन् ।

मतदाता नामावली संकलन गर्न प्रत्येक स्थानीय तहमा चार जना कर्मचारी खटाइनेछ । दर्तास्थल व्यवस्थापक, दर्ता कर्मचारी, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहायक खटाइने कार्यालयले जनाएको छ । मतदाता नामावली संकलन गर्न आउने टोलीलाई सघाउन हरेक स्थानीय तहमा सहयोग, समन्वय तथा प्रचारप्रसार समिति गठन गरिएको छ ।

स्थानीय तह पनि मतदान गर्न योग्य सबै नागरिकलाई मतदाता नामावलीमा समेट्ने प्रयासमा छन् । मतदाता नामावली प्रविष्ट गाउँपालिकाबाट हुने प्रचारप्रसारका गर्न कर्मचारी नै खटाएको म्याग्देका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम अधिकारीले बताए । ‘गाउँपालिकाले एक जना कर्मचारी नै खटाएर टोल टोलमा खबर पुर्‍याएका छौँ । मतदाता नामावलीमा छुटेका सबैलाई समेट्ने प्रयास गरेका छौँ’, उनले भने ।

बन्दीपुर गाउँपालिकाले वडा अनुसार मतदाता नामावली प्रविष्ट गर्ने तालिका तयार पारेको छ । वडा अनुसार सेवा दिँदा भिडभाड नहुने र सहज सेवा प्रवाह हुने भएकाले तालिका बनाएको सहयोग समन्वय तथा प्रचारप्रसार समितिका सदस्य सचिव विष्णु खत्री क्षेत्रीले बताए । शुक्रबारदेखी अन्यत्र जिल्लामा स्थायी बसोवास भई तनहुँमा रहेकाले पनि यसपालि मतदाता नामावली दर्ता गराउन सकिनेछ ।

तनहुँमा २०७४ को स्थानीय तहको निर्वाचनमा एक लाख ९० हजार ४ सय ७१ मतदाता थिए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको बेला २० हजार ९ सय ७५ मतदान गर्न योग्य मतदाता थपिएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । त्यसपछि गत २५ पुससम्म १५ हजार ६ सय मतदाता थपिएर कुल मतदाताको संख्या दुई लाख २७ हजार ४६ पुगेको थियो । गत साउनदेखि दुई हजार आठ सय १७ जनाले मतदाता नामावली फारम भरेको कार्यालयले जनाएको छ ।

Previous articleविदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ
Next articleखाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here