शिक्षक नियुक्तिमा जनप्रतिनिधिको स्वार्थ, तीन महिनादेखि पठनपाठनमा समस्या

394

कपिलवस्तु, १३ मंसिर

कपिलवस्तुको महाराजगन्ज नगरपालिका-१ जानकी माध्यमिक विद्यालयमा ४ जना शिक्षकको विज्ञापन निकालेको करिब तीन महिना पुगेको छ । प्राविधिक धार (सिभिल ) तर्फ कक्षा ११ लाई अध्यापन गराउन शिक्षक आवश्यकताको सूचना प्रकाशन भएको थियो । तर, शिक्षक नियुक्तिमा जनप्रतिनिधिको स्वार्थ जोडिएसँगै नियुक्ति प्रक्रिया रोकिँदा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ ।

असोजदेखि भौतिक उपस्थितिमा विद्यालय खुले पनि विद्यार्थीहरूले पाँच विषय पढ्न पाएका छैनन् । करिब ३३ विद्यार्थीले  पढाइ नभएपछि बिहीबारदेखि विद्यालयमा तालाबन्दी गरेका थिए । विद्यालयमा यसै शैक्षिकदेखि सिभिलतर्फ कक्षा ११ सञ्चालनमा आएको थियो । गाउँमै पढ्न पाएपछि खुसी भएका विद्यार्थी व्यवस्थापन समितिको राजनीतिक स्वार्थको कारण समस्यामा परेका छन् ।

विद्यालय प्रशासनले भदौ १५ मा विज्ञापन प्रकाशन गर्दै सिभिल इन्जिनियरतर्फ एक जना उच्च मावि तह, एक जना माध्यमिक तह र एक जना निम्न माध्यमिक तह गरी तीन जना शिक्षक र एक जना ल्याब असिस्टेन्ट पदमा आवेदन खुलाएको थियो । छनौट प्रक्रियाका सुरु गर्ने बेलामा विद्यालय व्यवस्थापन समितिमा किचलो भएपछि नियुक्ति प्रक्रिया सेलाएको विद्यालयका प्रअ कृष्ण प्रसाद चौधरीले बताए ।

तर, व्यवस्थापन समितिका अध्यक्ष सञ्जय अग्रहरीले विद्यालयमा प्रअले शिक्षक नियुक्तिको विषयमा बैठक नै नबोलाएको दाबी गरे । अग्रहरीले विद्यालय व्यवस्थापन समितिमा वडा कार्यालयबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको विवादले नियुक्ति प्रक्रियामा जटिलता उत्पन्न गराएको बताए । समितिमा वडा सदस्य फुल कुमारी गुप्ताले प्रतिनिधित्व गर्दै आएकोमा नगरपालिकाले वडा अध्यक्षलाई समितिमा राख्नु पर्ने निर्देशन आएपछि विवाद चुलिएको स्पष्ट पारे ।

नियुक्ति गर्नमा जनप्रतिनिधिको स्वार्थ

व्यवस्थापन समितिका अध्यक्ष अग्रहरी महाराजगन्ज नगरपालिका- १ का वडा सदस्यसमेत हुन् । उनका बालबालिका एक जना बुटवल र दुई जना न्यु शिशु इङ्लिस स्कुलमा अध्ययन गर्छन् । अर्का सदस्य जय प्रकाश पाण्डेका बालबालिका समेत विद्यालयमा अध्ययन गर्दैनन् । अग्रहरी राष्ट्रिय सभा सदस्य दृग नारायण पाण्डे निकटका मानिन्छन् । वडाबाट व्यवस्थापन समितिमा प्रतिनिधित्व गर्दै आएकी गुप्तासमेत पाण्डे निकट हुन् । महाराजगन्ज नगरपालिका हरेक क्रियाकलापमा पाण्डे र नगरपालिका प्रमुख अब्दुल कलाम बिचको खिचातानी चल्ने गर्दछ । यही द्वन्द्व विद्यालयमा समेत मिसिएको छ ।

एकै पटक चार जना नियुक्ति गर्नु पर्ने भएकाले नगर प्रमुख अब्दुल कलामको समेत चासोको विषय बन्न पुगेको स्थानीय बताउँछन् । नगरपालिकाको जोडवल विद्यालय व्यवस्थापन समितिमा वडा अध्यक्ष शिव प्रसाद बानियालाई प्रतिनिधित्व गराएर शिक्षक नियुक्तिमा प्रभाव जमाउन खोजेका छन् । व्यवस्थापन समितिले कलाम समर्थक बानियालाई प्रतिनिधित्व गराउन इच्छुक भने देखिँदैन । जसले गर्दा विज्ञापन खुलाएर पनि विद्यालय प्रशासनले शिक्षक नियुक्त गर्न सकेको छैन ।

व्यवस्थापन समितिको विवाद भन्दैमा विद्यार्थीको पढाइ रोकिनु गैर जिम्मेवारी क्रियाकलाप रहेको विद्यार्थी अगुवा अभिशेख यादव बताउँछन् । यता विद्यार्थीले असोजदेखि भौतिक उपस्थितिमा पठन पाठन सुरु गरे पनि मुख्य विषयको शिक्षक नहुँदा समस्या भएको बताउँछन् । नयाँ पाठ्यक्रम अनुसार ९ विषय अध्ययन गर्नु पर्ने हुन्छ तर ५ ओटा विषयको कक्षा सञ्चालन भएको छैन । कोभिडको मारसँगै शिक्षक अभावमा पढाई नहुँदा अन्तिम परीक्षामा प्राप्ताङ्क कम आउने विद्यार्थीहरू बताउँछन् ।

Previous articleटंकलाल घिसिङ राखेप सदस्य सचिबमा नियुक्त
Next articleएमाले महाधिवेशन : केन्द्रीय सदस्यमा जुट्यो सहमति

Leave a Reply