पोर्चुगल रोकियो, स्विडेन पराजित हुँदा स्पेनको कठिन जित

51

काठमाडौं, २६ कात्तिक
पाब्लो सराबियाको निर्णायक गोलमा स्पेनले कतार फिफा विश्वकप तथा युरोपियन छनोट खेलमा कठिन जित निकालेको छ ।

बिहीबार राति भएको समूह ‘बी’को खेलमा स्पेनले ग्रीसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

२६औँ मिनेटमा पाब्लो सराबियाले गरेको पेनाल्टी गोल निर्णायक भए पनि स्पेनले महत्वपूर्ण ३ अंक हासिल गरेको हो ।

समूह ‘बी’ कै अर्काे खेलमा जर्जियाले स्विडेनलाई २–० गोल अन्तरले पराजित गरेकाे छ । जर्जियाको जितमा केचभिचा केभारात्स्केलिया २ गोल गरे ।

खेलसँगै स्पेन ७ खेलमा ५ जित, १ बराबर र १ हारसहित १६ अंक बनाएर शीर्ष स्थानमा छ । १५ अंक रहेको स्विडेन दोस्रो स्थानमा छ भने ९ अंक बनाएको ग्रीस तेस्रो स्थानमा छ । ७ अंक जोडेको जर्जिया चौथो स्थानमा रहँदा कोसोभो ४ अंक सहित पाँचौं स्थानमा छ ।

समूह ‘ए’ को खेलमा १० खेलाडीमा समेटिएको पोर्चुगल आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।  खेलमा पोर्चुगलका पेपे दोहोरो पँहेलो कार्ड पाउँदै ८२औं मिनेटमा मैदान बाहिर पुगेका थिए ।

समूह ‘ए’ कै खेलमा लक्जेमवर्गले अजरवैजानलाई ३–१ गोल अन्तरले पराजित गरेकाे छ ।

बराबरीपछि पोर्चुगल ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा छ । समान १७ अंक भएपनि गोल अन्तरका आधारमा सर्बिया दोस्रो स्थानमा छ । लक्जेमवर्ग ९ अंक जोडेर तेस्रो स्थान रहँदा आयरल्यान्ड ६ अंक जोडेर चौथो स्थानमा छ भने अजरबैजान १ अंक सहित पुछारमा छ

Leave a Reply