नेकपा(एस)को दशरथचन्द नगर पालिकाको नगर कमिटी अध्यक्षमा ठगुन्ना

243

बैतडी, २५ कात्तिक

नेकपा एकीकृत समाजवादी पार्टीले बैतडीमा संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । पार्टीले आज जिल्लाको दशरथचन्द नगर पालिकाको अधिवेशन सम्पन्न गरेको छ ।

दशरथचन्द नगरपालिकामा दिनेश ठगुन्नाको अध्यक्षतामा ७१ सदस्यीय नगर कमिटी गठन गरिएको छ । नगर कमिटीको उपाध्यक्षमा गोमती नेपाली तथा गोपाल चन्द र सचिवमा सुरेन्द्र सिंह धामी चयन भएका छन् । नगर कमिटीको उपसचिवमा रमेशप्रसाद भट्ट र परे नाथ चयन भएको पार्टी जिल्ला अध्यक्ष महादेव भट्टले बताए ।

यसैगरी जिल्लाको विभिन्न वडाहरूमा पनि वडा कमिटी गठन गरिएका छन् । दोगडाकेदार गाउँपालिका-८ मा वडा कमिटी गठन गरिएको छ । महेन्द्र विष्टको अध्यक्षतामा २८ सदस्यीय वडा कमिटी गठन गरेको जिल्ला कमिटी सदस्य धनबहादुर कार्कीले बताए । नेकपा(एस) बैतडीका ४० वडामा वडा कमिटी गठन गरिसकेको उनले बताए ।

यही कात्तिक २८ गते मेलौली नगरपालिकामा अधिवेशन हुने पार्टी कमिटी सदस्य दिनेश भट्टले बताए । अहिले आफूहरू पार्टी सुदृढीकरणको अभियानमा लागेको उनले बताए ।

पार्टीको यही ६ कात्तिकमा सम्पन्न विस्तारित बैठकले तीन महिने पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो ।

Leave a Reply