अमेरिकी प्रतिनिधिमन्डल ताइवान पुगेपछि चीन क्रुद्ध, बेइजिङले भन्यो–आगोसँग कहिल्यै नजिस्किनू

429

न्युयोर्क, २५ असोज
चीनले आगोसँग नजिस्कन अमेरिकालाइ चेतावनी दिएको छ । अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमन्डलले ताइवान  भ्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला चीनको चेतावनी आएको हो ।  ‘अमेरिकाले आगो चलाएको छ, यसले उसैलाई जलाउने निश्चित छ,’ चीनले चेतावनीयुक्त भाषामा भनेको छ ।

अमेरिकी प्रतिनिधिमन्डलको ताइवान भ्रमणलाई चीनले ‘जोखिम र उत्तेजक’ भन्दै यसले एक चीन नीतिको उल्लंघन गरेको आरोप लगाएको छ । ‘ताइवानको स्वतन्त्र फौजसँग अमेरिकाको साँठगाँठ खतरनाक खेल हो । आगोसँग खेल्दा त्यसैले आफैलाई जलाउँछ,’ चीनका विदेशमन्त्री वाङ लीले भने ।

तर, अमेरिकी रक्षा मन्त्रालयले आफ्ना सांसदहरुको ताइवान भ्रमण समान्य भएको जनाएको छ । अमेरिकी संसदको प्रतिनिधिमन्डल अमेरिकी सेनाको विमानबाट ताइवान पुगेको थियो ।

अमेरिकी सांसदहरुको भ्रमण निकै उपयोगी भएको ताइवानका प्रधानमन्त्री सु सेङ चाङले बताएका छन् । भ्रमणलाई उनले ‘साथीहरूबीचको पारस्परिक भेट’ भनेका छन् ।

ताइवानको हवाई आधारमा चीनले आफ्ना लडाकु विमान बारम्बार उडाएपछि चीन र ताइवानबीचको सम्बन्ध चिसिएको छ । सम्बन्ध बिगार्न अमेरिकाले अप्रत्यक्ष भूमिका खेलेको चीनको आरोप छ ।

चीनले ताइवानलाई आफूबाट अलग भएको महत्वपूर्ण अंशको रूपमा हेर्दै आएको छ भने ताइवानले आफूलाई एउटा स्वतन्त्र मुलुक सम्झन्छ ।
ताइवानस्थित अमेरिकी केन्द्रले अमेरिकी सांसदहरुको ताइवान भ्रमणको व्यवस्था गरेको थियो ।

Previous articleग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
Next articleम्यानमारमा अमेरिकी पत्रकारमाथि राजद्रोह आरोप, जन्मकैद सजाय हुन सक्ने

Leave a Reply