रैथाने छठको विश्वरूप

54

सञ्जय साह ‘मित्र’

छठ पर्व नेपालको मौलिक पर्व हो । मौलिक पर्व यस अर्थमा कि यस पर्वको प्रादुर्भाव नेपालमा भएको हो । नेपालमा प्रादुर्भाव भई विश्वका अनेक देशमा हिन्दु समुदायले मनाउने गरेको छठको रैथाने स्वरूपले अब विश्वरूप ग्रहण गरिसकेको छ ।

छठ पर्वको उत्पत्तिको विषयमा एउटा प्रसङ्ग छ । महाभारत कालमा छठ पर्व सबैभन्दा पहिले द्रोपदीले गरेको पाइन्छ । १२ वर्षको वनवासपछि एक वर्ष अज्ञातवास बिताउनु पर्ने तथा अज्ञातवासमा कौरवका कुनै दूतले पाण्डवलाई फेला पारेमा फेरि १२ वर्ष वनवास बस्नुपर्ने सर्त थियो । अज्ञातवासको सफलताको लागि द्रोपदीले पहिलो पटक छठ पर्व गरेको विश्वास छ ।

छठको समयमा विभिन्न टेलिभिजन र पत्रपत्रिकाहरूले पनि यसै विषयलाई उल्लेख गर्दै आएका छन् । अन्य केही सन्दर्भ र प्रसङ्ग पनि यसको उत्पत्तिको विषयमा नआउने होइन । कतिपयले शास्त्रीय तर्क पनि दिन्छन् । तर, शास्त्रीय पर्वको विधिविधान शास्त्रसम्मत हुन्छ । कम्तीमा पण्डित र पुरोहितको भूमिका हुन्छ । तर, यसमा लोकसम्मति नै सर्वोपरि हुन्छ । यो लोकआस्थाको महापर्व हो भन्नेमा द्विविधा छैन ।

वनवासको क्रममा रहेका पाण्डवसहित द्रोपदीले अज्ञातवासको सफलताको लागि नेपालको प्रदेश २ को रौतहट जिल्लामा रहेको गढीमाई नगरपालिकाको समनपुरस्थित बाग्मती नदीको किनारमा पहिलो पटक छठ व्रत गरेकी थिइन् । छठ व्रत गरेपछि अज्ञातवास बिताउनको लागि बाग्मती नदी पार गरेर पूर्वतर्फ गई विराटनगर पुगेको लोकविश्वासमा तथ्य पनि पाइन्छ ।

ज्ञातव्य छ,  विराट दरबारमा नोकरी गरेर अर्थात् राजपरिवारको सेवा गरेर पाण्डव र द्रोपदीले एक वर्षको अज्ञातवास बिताएका हुन् ।
छठ व्रत गरेर पाण्डवहरू आफूहरूलाई अज्ञात बनाउन एउटा सुरुङमा पसेका थिए । यसअघि आफूहरूलाई लाक्षागृहबाट जोगाउन पनि सुरुङको उपयोग गरिसकेका पाण्डवहरूले १२ वर्षको वनवास बिताइसकेपछि अज्ञातवासको प्रारम्भ अत्यन्त गोप्यतापूर्वक गर्नुपर्ने थियो । कौरवका दूतहरू यत्रतत्र थिए र सबै खबर कौरवहरूसमक्ष पु¥याइरहेका थिए । यस अवस्थामा अज्ञात हुनलाई सुरुङमा पसेर त्यसको मुख ढुंगाले बन्द गरेका थिए ।

पाण्डवहरूले बनाएको सुरुङ बाग्मती नदीको किनारमा ऐतिहासिक समनपुर बजारमा छ, जसको मुखमाथि राखिएको ढुंगालाई भीमेश्वर महादेव भनेर स्थानीय पूजा गर्दै आएका छन् । रौतहटमा यो प्राचीन महादेव मन्दिरको रूपमा छ । सुरुङमा पसेपछि भित्रभित्रै पूर्वतिर लागेका पाण्डवहरू बाग्मती नदी तरेर पूर्वको जंगलमा प्रवेश गरी विराटनगर पुगेका थिए ।

पाण्डवमध्येका एक भीमसेनको विवाह हिडिम्बासित भएको र हिडिम्बाको गर्भबाट घटोत्कचको जन्म भएको सन्दर्भ पाइन्छ । हिडिम्बाको नामबाट नै हेटौँडा बजारको नाम रहन गएको सन्दर्भ पनि विचारणीय छ । हेटौँडाको सम्बन्ध महाभारतसित रहेको छ र महाभारत पर्वतमालाको सम्बन्ध यस अर्थमा पनि महाभारतसित जोडिन आउँछ ।

यसरी रौतहटमा उत्पत्ति भएको लोकआस्थाको महापर्व छठ बाग्मतीको सभ्यता हुँदै गंगा सभ्यतासित जोडिन पुगेको छ । स्मरणीय छ, बाग्मती नदीको दुवै किनारमा रहेका जिल्लाहरू सर्लाही र रौतहटमा स्थानीय मातृभाषा बज्जिका छ । बाग्मती बग्दै दक्षिणतिर जाँदा भारतसँग सीमा जोडिएका जिल्लाहरूको स्थानीय भाषा पनि बज्जिका छ । रामायण कालमा बज्जि गणतन्त्रसित वर्तमान बज्जिका मातृभाषी भूगोलका सोझो सम्पर्क रहेकोले छठको विस्तार गंगाकिनारसम्म हुँदै गंगाको तिरैतिर बिहारका अन्य स्थान र उत्तरप्रदेश हुँदै फैलिएको हो । यसरी बिहार र उत्तर प्रदेशका साथै नेपालको तराई मधेसका विभिन्न जिल्लाका स्थानीयवासी अन्य देशमा पनि जाने क्रममा रौतहटमा उद्भव भएको छठलाई विश्वका विभिन्न कुनाकुनासम्म पुर्‍याएका छन् ।

कतिपयले छठलाई सूर्यपूजामा सीमित गर्न खोज्दछन् । लोकआस्थामा छठीमाईलाई सूर्यकी पत्नी भनिएको पनि पाइन्छ । छठीमाई अढाई दिनको लागि माइत आउँछिन् र सोही दिन भव्य पूजा हुन्छ । सबैभन्दा पहिले त खरनाको रात छठीमाईको पूजा गरिन्छ । कात्तिक शुक्ल पञ्चमीको रातमा खरना गरिन्छ । भोलिपल्ट षष्ठीको दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ र राति फेरि छठीमाईको पूजा गरिन्छ । रातभर पूजा हुने भएको छठी माईकै हो । श्रीसप्ता राति वा रातभर छठीमाईको पूजा गरेपछि भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा समापन हुन्छ ।

अन्य विभिन्न सन्दर्भमा पनि सूर्यको पूजा गरिन्छ । लोकदेवताहरू गोविन्द, गणिनाथ, फेकुराम, दयाराम, कारिख, गोरेया आदिको पूजामा पनि सूर्यलाई अर्घ दिने चलन छ । तर, अन्य कुनै पनि लोकदेवताको पूजामा दिइने सूर्यको अर्घलाई छठ मानिएको पाइन्न र छठ पर्वमा चढाइने पूजा सामग्री पनि अन्य कुनै व्रतको भन्दा नितान्त भिन्न रहेको पनि देखिन्छ । यसले गर्दा छठ पर्वमा सूर्यको पूजा गरिन्छ भन्ने सत्य त हो, तर सूर्य पूजा नै छठ पूजा हो भन्ने चाहिँ होइन भन्ने देखिन आउँछ ।

नेपालमा विभिन्न चाडपर्वहरूको सुरुवात भएको छ । अझ बज्जिकाञ्चलमा केही विशिष्ट पर्व तथा संस्कृतिहरू अहिले पनि छ । शिवको विशिष्ट अनुष्ठान मधानी महायज्ञ केवल सर्लाही, रौतहट र बारामा मात्र गरिन्छ । लखराआँे पनि यही क्षेत्रमा हुन्छ । शिवलाई धानको मोर चढाउने चलन यहीँबाट कतै कतै विस्तार हुँदै गरेको छ । लोरिकायन यहीको सम्पत्ति हो अर्थात् हलिउडसम्म विस्तार भएको लोरीगीतको उद्गमस्थल यहीँ हो । विश्वमा सबैभन्दा बढी बलि दिइने भनि चिनिएकी देवी गढीमाई यही क्षेत्रमा पर्दछ । गढीमाईको मन्दिर बारा, रौतहट र सर्लाहीमा छन् । यी तथ्यहरूले यहाँको भूमिको सांस्कृतिक सम्पदाको महत्वलाई स्पष्ट पार्दछन् ।

यी सन्दर्भहरूको साक्ष्यमा छठ पर्व नेपालको हो । अनेक मिथक तथा किंवदन्तीहरू यसका साक्ष्य छन् । हिडिम्बाको निवास हेटौँडा हुनु, पाण्डवहरूले अज्ञातवास सुरु गर्नुभन्दा पहिले सुरुङमा लुकेको ठाउँ समनपुरमा हुनु तथा अज्ञातवास सफल बनाउन द्रोपदीले छठ पर्व गरेको लोकतथ्य पाइनु र पाण्डवहरूको अज्ञातवासको करिब सम्पूर्ण समय विराटनगर र आसपासमा बितेको पाइनु लगायतका साक्ष्यहरूको आधारमा लोकआस्थाको महापर्व छठको सुरुवात  रौतहटको समनपुरबाट भएको हो भन्ने देखिन आउँछ । यसर्थ विश्वभरि फैलिँदै गएको छठ नेपालको मौलिक लोकपर्व हो । नेपालको रैनाथे पर्व हो । वर्तमानमा यसले विश्वरूप धारण गरिसकेको छ ।

(लेखक साह पत्रकार तथा साहित्यकार हुन्)

Leave a Reply