बढी भाडा लिने दुई टाटासुमोबाट भाडा फिर्ता

154

खोटाङ, २३ कात्तिक

चाडवाडको मौका पारेर खोटाङमा यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल गर्ने यातायात व्यवसायीबाट भाडा फिर्ता गराइएको छ । जिल्लाको ऐसेलुखर्क र बाक्सिलाबाट काठमाडौं जाने क्रममा ना१ज ६२११ र ना१ज ६४६० नम्बरको टाटासुमो गाडीले तोकिएभन्दा जनही २५० रुपैयाँ बढी भाडा लिएको पाइएपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीको टोलीले भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराएको हो ।

बाक्सिला र ऐसेलुखर्कबाट काठमाडौं जानेक्रममा जनही दुई हजार भाडा लिनुपर्नेमा जनही दुई हजार २५० रुपैयाँ भाडा उठाइएको पाइएपछि तोकिएभन्दा बढी लिइएको भाडा यात्रुलाई फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

ऐसेलुखर्कबाट काठमाडौंका लागि छुटेको टाटासुमोले १० जना र बाक्सिलाबाट छुटेको टाटासुमोले ९ यात्रु बोकेको प्रहरीले जनाएको छ । एउटा टाटासुमोलाई नुनथला र अर्को टाटासुमोलाई अर्खौले चेकपोस्टमा रोकेर बढी लिइएको भाडा यात्रुलाई फिर्ता गराइएको डिएसपी लम्सालले बताए ।

चाडपर्वको समयमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाइएका चार वटा बस, एक वटा ट्याक्टर, १७ वटा मोटरसाइकल, पाँच वटा टाटासुमोलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार आवश्यक जरिवाना गराएको प्रहरीले जनाएको छ ।

Leave a Reply