संरक्षित क्षेत्रमा वनैभरी पासो, बिना तस्करको बिगबिगी

591

पोखरा, २३ कात्तिक

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत मुस्ताङका जंगलभरी जंगली जनावर मार्न पासो थापिएको छ । तस्करहरूले  बिनाको तस्कर गर्न कस्तुरी मार्ने उद्देश्यले जंगलमा पासो थापेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले वनगस्ती गर्ने क्रममा पासो फेला पारेको हो । हालसम्म १७५ वटा जाल फेला पारिसकेको मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।

उनका अनुसार गस्ती अभियान अन्तर्गत पहिलो दिन ४१ वटा, दोस्राे दिन १०० र तेस्राे दिन ३४ वटा जाल फेला पारेको छ । ‘तस्करहरूले बिना तस्करी गर्नका लागि पासो थापेको देखिन्छ । कस्तुरीको बिनाकै खोजीका लागि थापेको हो,’ उनले भने, ‘भालेको बिना काटेर लगेको अवस्था थियो । रेड फक्स चाहीँ कस्तुरीको लागि थापेको पासोमा झुक्किएर परेका हुन् ।’

जंगलमा छवटा कस्तुरी र दुईवटा रेड फक्स मृत फेला परेको छ । तिमध्ये चारवटा पोथी र दुईवटा भाले कस्तुरी छन् । भाले कस्तुरीसँग मात्र बिना हुन्छ । चाडवाडको मौका छोपेर त्यस क्षेत्रमा चोरी सिकारी बढेको प्रहरीले जनाएको छ । तस्कर भने फेला परेका छैनन् ।

‘तस्कर भेटेका छैनौं । जता पनि पासैपासो छ,’ अधिकारीले भने, ‘हामीले शंकास्पद व्यक्तिमाथी निगरानी बढाएका छौं । तस्करहरूको ठूलै समूह भएको अनुमान गरेका छौं ।’

विशेषगरी कागबेनीमाथिको निच्चा जंगलमा कस्तुरीलाई पासो थापिएको हो । पहिलो दिन लुप्रा पाखामा दुईवटा कस्तुरी र एउटा रेड फक्स फेला परेको थियो । दोस्राे दिन तीनवटा कस्तुरी भेटिएको र तेस्राे दिन एउटा रेड फक्स मृत अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कस्तुरीको बिना निकै महंगो मुल्यमा बिक्री हुन्छ । दैनिक ३० देखि ४० जनाको टोलीले गस्ती गरिरहेको एक्याप मुस्ताङका प्रमुख ऋषि बरालले जानकारी दिए । ‘दैनिक गस्ती गरिरहेका छौं । सोमबार चाहिँ कस्तुरी भेटिएन, पासो मात्र भेटियो,’ उनले भने, ‘अब करिब जंगल पासोमुक्त भएको छ । क्लिन बनाएका छौं ।’ मंगलबार पनि प्रमुख जिल्ला अधिकारीसहित १५ जनाको टोली गस्तीमा गएका छाैँ ।’

लकडाउन खुलेपछि नै जंगलमा पासो थापिएको हुनसक्ने अनुमान गरिएको छ । ‘पासोको अवस्था हेर्दा धेरै पुरानो होइन । यही एक डेढ महिनाभित्र हालेको देखिन्छ,’ बराल भन्छन्, ‘मुस्ताङकै मान्छेको सहयोग बिना कसैले यति ठूलो अपराध गर्ने आँट गर्दैन । यहाँका मान्छेले पासो नथापे पनि तस्करलाई सहयोग गरेका छन् । यो निकै दुखद् कुरा हो ।’

 

Previous articleसरकार र प्रतिपक्ष दुवैले चोलेन्द्र लाई हिजोको गुन तिरि रहेका छन्
Next articleबाढीपहिराे गएकाे एक महिनापछि क्षति विवरण खोज्दै प्रदेश सरकार

Leave a Reply