तिमी र म

355

तिमी र म

म नदी हुँ
तिमी मलाई मिलाएर बगाउने
दुई किनारा हौँ ।

म दोबाटोमा भाँसिएको गहिरो खोलो हुँदा
तिमीले चन्द्रमा छुने सपना बोकेका मान्छेहरुलाई
वारी बाट पारी तार्ने झोलुङ्गे पुल हुनु ।

म बाटो हुँ
मलाई कुल्चेर हिड्नेहरु
गन्तव्य सम्म पुगुन्
र कुनै किसिमका बाधा अबरोधहरु नभोगुन्
तिमी माटो हौँ
तिमीसँग प्रेम गर्नेहरुले
धानको भात र सागको पात खान पाउन् ।

म दक्षिण र उत्तरको सिमानामा
हिमालहरु बनेर उभिरहँदा
तिमी
आठ हजार आठ सय अढ्चालिस मिटरको
छाती फुलाएर
यो विश्वपरिक्रमाको म्याराथनमा
प्रथम हुनेगरी दौडिरहनु ।

सकेसम्म
म यो देश बन्ने प्रयास गर्नेछु
तिमी मेरो सारासंसार बनिदिनु ।

विज्ञानले
मलाई माइक्रोसकप बनाएछ भने
तिमीले अदृष्य वस्तु हुन परोस
जसलाई मैले मात्र हेर्न / देख्न सकुँ ।

अथवा ,
मलाई टेलिस्कोप बनाएर
उत्तर कोरिया र सिरिया पुर्याएछ भने
तिमीलाई आखैँमा च्यापेर
क्षितिजको नागबेली नजरमा
सबैभन्दा काबुक बनाएर हेर्नेछु ।

तिम्रो लागि म
रुखको टुप्पोमा पलाएको एंजरु बनिदिन तयार
तर तिमीले अक्सिजन बनेर
सबैको सास बनिदिनु ।।

ध्रुब पौडेल
पाख्रिबास – धनकुटा ।


Leave a Reply