उर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा पम्फा भुसालले विपन्न वर्गलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले निर्णय गरिसकेको छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिइन्।
सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने नीति अघि सारेको छ। संयुक्त सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम, पूर्वमन्त्री, सचिव र महाशाखाअन्तर्गतका निकाय तथा विज्ञबाट प्राप्त सुझावका आधारमा जनतालाई छिटोछरितो सेवा प्रवाह गर्ने, विद्युत् र सिँचाइलाई उत्पादनका पूर्वाधारकारूपमा लिइ देशलाई समृद्ध तुल्याउने सन्दर्भमा विभिन्न निर्णय भएको सो अवसरमा जानकारी दिइयो।
सरकारले राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा विद्युतीकरण गर्न वैकल्पिक ऊर्जा प्रणाली जडान गरिने तथा वितरण लाइन तथा सवस्टेशनको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने कार्यक्रम अघि सारेको छ।
कृषि उत्पादनलाई बढाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन खेतियोग्य जमिनमा सिँचाइका लागि विद्युतीकरण अगाडि बढाउने तथा कृषि उत्पादन वृद्धि गर्दै कृषिजन्य वस्तुको आयात घटाउन किसानलाई सिँचाइमा प्रयोग हुने विद्युत्मा अधिकतम सहुलियत प्रदान गर्ने कार्यक्रम रहेको छ।