तुलसीपुरमा कारभित्र मृत भेटिएका बालकहरुको पहिचान खुल्यो, गाडी मालिक र चालक पक्राउ

793

तुलसीपुरमा पार्किङ गरी राखिएको भारतिय नम्बर प्लेटको कारभित्र मृत भेटिएका तीन बालकहरूको पहिचान खुलेको छ । तुलसीपुर उपमहानगरपालिका–६ मा लक गरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको कारमा मृत भेटिएका तीन जना बालकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले दिएको जानकारी अनुसार मृतक बालकहरू तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेका छन् ।

तुलसीपुर–६ स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको लक लागेको भारतीय नम्बर प्लेटको गाडीभित्र शनिवार बेलुकी उनीहरू मृत भेटिएका थिए ।तीनैजना बालक बैशाख १६ गते अपरान्हदेखि हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा अभिभावकको निवेदन परेको र १८ गते बेलुकी अचानक गाडीको लाइट बलेपछि स्थानीय बासिन्दा नजिकै गएर हेर्दा लक गरिएको गाडीभित्र उनीहरूको शव भेट्टाएको एसपी चन्दले बताएका छन् ।

उनका अनुसार प्रहरी अनुसन्धानका लागि गाडी मालिक यादव प्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिइएको छ ।उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले जानकारी दिए । उनले घटनाको अनुसन्धान चलिरहेकाले अहिले सोधपुछको लागि उनिहरुलाई नियन्त्रणमा लिइएको र उनीहरु नै अभियुक्त भए नभएको बारे प्रहरीले अनुसन्धान नगरेर त्यसै भन्न नसकिने बताए ।

उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको एसपी चन्दको भनाइ छ ।

Previous articleराजीनामा दिएकै दिन फेरी पोखरेल मुख्यमन्त्री नियुक्त
Next articleप्रधानमन्त्री ओलीले विश्वासको मत लिने

Leave a Reply