शैलुङको वास्तविक अर्थ !! तामाङ जाति र पहिचानको ऐतिहासिक विम्बहरु !!!

106
लेखक : सरोजमोहन लामा तामाङ

थालनी 
शैलुङ नेपालको ताम्सालिङ भूमि भित्रकै जनकपुर अञ्चल, दोलखा जिल्लातिर धेरै पानीढलो भूमि र रामेछाप जिल्लाको सिमानामा पर्दछ । सदरमुकाम चरिकोटबाट दक्षिण पश्चिममा अवस्थित छ, भने रामेछाप जिल्लाको उत्तर पश्चिम सिमाना । भौगोलिक हिसाबमा समुन्द्रि सतहदेखि करिब ३१५० मिटर उचाईमा अवस्थिति २७०३३’ अक्षांस देखि ४१०१२’ उत्तर र ८५०५८’ देशान्तर देखि २९०५८’ पूर्वी देशानतरसम्म फैलिएको छ । शैलुङको उत्तर पूर्वतिर तामाकोशी नदी बहकीरहेको देखिन्छ, भने दोलखा जिल्लामा अवस्थित रामेछाप जिल्लाको सिमनामा पर्ने समुन्द्री सतहदेखि करिब ७२३ मीटरमा रहेको तामाकोशीको किनारमा रहेको “सीतली बेंशी” शैलुङ प्रदेश वा श्रृंखलाको सबैभन्दा होचो भूमि÷जमिन हो । शैलुङ वैदिक कालदेखिकै धार्मिक, साँस्कृतिक, पुरातात्वीक र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र हो ।

शैलुङको वास्तविक अर्थ

“शैलुङ”को वास्तविक अर्थसँग तामाङ पहिचान, जाति, भाषा, धर्म र संस्कृतिको यर्थाथ ऐतिहासिक विम्ब लुकेको छ । जसलाई उजागर गर्नु आजको आवश्यकता हो । “शैलुङ” भनिने शब्दको वास्तविकता शैलुङ नभई “शाङ्गेलिङ” भएको अनुमान गर्न सकिन्छ । अझ् त्यो भन्दा अगाडी “सालुङ” भनिन्थ्यो, भनी तामाङ बान्बो, लामा, गान्बा, ताम्बाले भनिन्छ । “सा” भनेको तामाङ भाषामा भूमि÷जमिन हो भने “लुङ” भनेको थुम्का वा चुचुरो÷शिखर÷टुप्पो हो । त्यसोहुँदा शैलुङको अर्थ भूमि÷जमिनको थुम्का वा चुचुरो÷शिखर÷टुप्पो भन्ने हो । त्यसपछि शाङ्गेलिङ भई शाङगेलिङ कै उच्च भूभाग भएको हुनाले सो भूमिलाई “शाङ्गेलुङ” भनियो । सो शाङ्गेलुङ भन्ने शब्दनै समयान्तरालमा अपभ्रम्स हुँदै वास्तवमा हालको शैलुङ भएको हो । जो भाषा विज्ञानको भाषिक विकास नियमानुसार पनि शब्द अपभ्रम्स हुँदै वर्तमान अवस्थामा आईपुग्दा चलन चल्तीको शब्द शैलुङ भएको प्रष्ट हो र बुझिन्छ । किनभने तामाङ भाषामा शाङ्गे भनेको ज्ञानी (शान्तिको मार्ग दर्शक, धर्म, दर्शन, ज्ञान, आध्यात्मिक र भौतिक संसारको वारेमा सिद्घी प्राप्ति व्यक्ति) बुद्ध अर्थात शान्तीका अग्रदुध भगवान गौतम बुद्ध हो । भने लुङ भनेको थुम्का वा चुचुरो÷शिखर÷टुप्पो हो । फेरि बुद्ध भगवानकै सिस्से वा चेला जो सबै सिस्से÷चेलाभन्दा उत्कृष्टि र ज्ञानी थियो ।

जसले तिब्बत, चीन र नेपालको हिमाली प्रदेशमा विगविकी रहेको अधिकांस बोन धर्मलम्बीहरुलाई(मा) बुद्ध धर्मको प्रचार र अनुयायीहरु वा बुद्धधर्मलम्बीहरु बनाउन विशेष योगदान दिनु भएको थियो, “गुरु पद्मा सम्भव (गुरु रेम्बोर्जे)” लाई पनि बुद्ध भगवानको सेस्पछि दोस्रो शाङ्गे नै भन्ने गरिन्छ तमाङ समुदायमा । त्यसैले शान्तिको मार्ग दर्शक, धर्म, दर्शन, ज्ञान, आध्यात्मिक र भौतिक संसारको वारेमा सिद्घी प्राप्ति व्यक्ति अर्थात बुद्ध भगवानको अनुयायीहरु धेरै भएको भूगोल वा प्रदेश÷क्षेत्र भएकोले सो भूगोल वा प्रदेश÷क्षेत्रलाई शाङ्गेलिङ भनिएको हो । तामाङ भाषामा “लिङ” भनेको प्रदेश वा क्षेत्र हो, जुन क्षेत्रफलको हिसाब धेरै भूभाग ढाँकिएको विशाल हुन्छ, भने लुङ” भनेको टुप्पो÷शिखर÷चुचुरो वा थुम्का÷थुम्की, जुन क्षेत्रफलको हिसाबले सानो डाँडा वा थुम्का÷थुम्की मात्रै हुन्छ । अर्को कुरा “लिङ” लाई श्रृखलाको रुपमा पनि बुझिन्छ । त्यसो हुँदा उक्त शाङ्गेलिङ अर्थात श्रृखल वा प्रदेश÷क्षेत्रको सबभन्दा उच्च टुप्पो÷शिखर÷चुचुरो वा थुम्का÷थम्कीलाई नै “लुङ” भन्ने हो तामाङ भाषामा । त्यसैले शाङ्गेलिङको सबभन्दा उच्च शिरको भागनै (टुप्पो÷शिखर÷चुचुरो वा थुम्का÷थुम्की) लुङ भएकोले त्यसलाई शाङ्गेलुङ भनिएको हो । त्यसोहुँदा शैलुङको वास्तविक अर्थ शाङ्गेलुङ हो ।

यदि चट्टान वा चट्टानमा हिउँ भएको उच्च शिखर÷टुप्पो÷चुचुरो छ, भने त्यसलाई प्रायः चुचुरा, तामाङ भाषामा लुङ भनिन्छ । भने, उक्त उच्च शिखर÷टुप्पो÷चुचुरो माटो भएको छ भने थुम्का÷थुम्की भनिन्छ । फेरि अलि अलि होचो अर्थात कम उचाई र कम क्षेत्रफल ओगटेको छ, भने त्यसलाई डाँडा भनिन्छ अनि तामाङ भाषामा “गाङ” भनिन्छ । यी लिङ, लुङ र गाङ तीनवटै शब्दको अन्तिममा “ङ” अक्षर आउदछ, भने लिङ र लुङ दुई शब्दमा चाहि शुरुको अक्षर पनि “ल” नै आउदछ ।

“ज्योमोलिङ” भनेको हिमालय प्रदेश हो, तामाङ भाषामा । ज्योमोलिङ अर्थात हिमालय श्रृखला वा प्रदेश÷क्षेत्रको सबैभन्दा उच्च चुचुरा÷टुप्पो÷शिरलाई नेपाली भनिने खस भाषामा सगरमाथा भनी चिनिन्छ, भने तामाङ भाषामा “ज्योमोलुङ” भनिन्छ, सगरमाथालाई । यहाँ हामीले विचार गर्नुपर्ने कुरा भनेको यी शब्द बन्ने प्रक्रियामा हो, कति वैज्ञानिक र व्यवहारिक छ, जस्तोः ज्योमो+लिङ=ज्योमोलिङ, भएको देखिन्छ भने, ज्योमो+लुङ=ज्योमोलुङ, भएको छ । ज्योमोलिङ भनेको हिमालाय श्रृखला वा प्रदेश÷क्षेत्र हो भने ज्योमोलुङ भनेको सो श्रृखला वा प्रदेश÷क्षेत्रको शिखर÷टुप्पो÷चुचुरो वा थुम्का हो । त्यस्तै शाङगेलिङको सवालमा पनि शाङ्गे+लिङ=शाङ्गेलिङ भएको हो । जसको अर्थ शाङ्गेको प्रदेश, शाङ्गेले ज्ञान प्राप्त गरेको भौगोलिक श्रृखला वा क्षेत्र (माथि उल्लेखित भईसकेको छ,) हो । अनि यो शाङ्गेलुङ अर्थात शैलुङ पनि महाभारत भनिने श्रृंखलाको उच्चतम विन्दुमा रहेको शिखर÷चुचुरा÷टुप्पो÷थुम्का वा थुम्की हो । फेरि शाङ्गे+लिङ=शाङ्गेलिङ भएजस्तै गरी लिङको लुङ पनि श्रृंखलाको उच्चतम विन्दुमा पर्ने थुम्का वा थुम्कीहरु शाङ्गे+लुङ=शाङ्गेलुङ भएको हो । जसको अर्थ शाङ्गेको प्रदेश, शाङ्गेले ज्ञान प्राप्त गरेको भौगोलिक श्रृखला वा क्षेत्रको उच्च भूभाग थुम्का÷थुम्की हो । त्यसैले शैलुङको वास्तविक अर्थ शाङगेलुङ हो । शाङ्गेलुङ भनेको नै छोटकरीमा शब्द अपभ्रम्स हुँदै शैलुङ हो । र यो तामाङ भाषा एवं तामाङ जातिकै लुकेर बसेको पहिचान हो । हराउन आटेको खास ऐतिहासिक बिम्ब हो । अनि वास्तविकतालाई बग्याई भ्रमको खेती गर्ने तितो सत्यको एउटा प्रतिकको बिम्ब रुपी उदाहरण पनि हो ।

शाङ्गेलुङ अर्थात शैलुङ वारे भ्रम

शाङ्गेलुङ अर्थात शैलुङलाई नेपाली भाषा भनिने खस भाषा र तामाङ भाषाको मिश्रणमा यसको अर्थलाई अथ्र्याएको पाईन्छ । “१०० वटा अग्ला होचा थुम्की डाँडाहरुको समूह भएकोले यस ठाउँलाई तामाङ भाषामा शैलुङ भनिएको हो भन्ने भनाई प्रचलित छ ।” भनी शैलुङको वारेमा लेखेको “दोलखा दर्पण” भन्ने किताबमा उल्लेख गरेको छ । त्यसैगरी पुराना तामाङ किताब सन् १९५७ तिर भारतको तामाङ बस्ती दोर्जेलिङ हालमा भनिने दार्जिलिङतिरबाट सान्तवीर लामाद्घारा लिखित “तम्बा काईतेन”मा पनि त्यस्तै अर्थ भनिएको देखियो । यद्यपी लेखकले त्यहाँ मैले लेखेको वा सुनेकै अन्तिम सत्य नहुनसक्छ भनी उल्लेख गरिएको छ । तर सत्य के हो भने कुनै पनि डाँडा वा थुम्का अथवा संसारका कुनैपनि ऐतिहासिक भौगोलिक भूभाग, बनजंगल, टोल, गाउँ, राज्य, देश, नदीनालाहरुको नामहरु प्रायः त्यही क्षेत्रमा बसोबास गर्ने रैथाने आदिवासी जनजाति, जातिहरुको मौलिक भाषामा नै राखिएको हामीले भेटाउदछौ । त्यसमा पनि एउटै भाषाबाट राखिएको पाईन्छ दुई वटा वा दुईभन्दा बढी भाषा मिश्रृत गरेर होइन । दुई वा दुई भन्दा बढी जातिको भाषामा मिश्रणगरी नाम राखिएको सायदै हामीले भेटाउन मुस्किल पर्छ । त्यस्तो हुँदापनि हुन्न ।

यदि तामाङ भाषामा नै १०० वटा अल्ला होचा थुम्की डाँडाहरु भएर शैलुङ नाम राखिएको हो भने तामाङ भाषामा १०० (सय) अंक लाई “शै” वा सय भनिदैन । तामाङ भाषामा १०० (सय) लाई “ग्यार्जा गिक” अथवा “ग्यार्जा” भनिन्छ । त्यसो हुँदा शैलुङ लाई “ग्यार्जालुङ” भनिनु पर्ने हो तर त्यसो भनिएकै छैन र आजको दिनसम्म पनि उक्त शब्द सुन्नमा सम्म आईएको छैन तामाङ समुदायको मौखिक एवं लिखित शब्दभण्डारमा । त्यसैगरी नेपाली भाषा भनिने खस भाषाबाट शैलुङ नाम राखिएको हो भने सो भाषामा १०० (सय) लाई “शै” भनिदैन सय भनिन्छ । फेरि पछाडीको “लुङ” भन्ने फुर्काको सट्टो थुम्की वा डाँडा भनी सयडाँडा वा सयथुम्की÷थम्का भनी प्रचलनमा आउनु पर्ने हो त्यस्तो पनि भएको देखिन्दैन र पाईदैन । अर्को महत्पूर्ण कुरा त शाङ्गेलुङ अर्थात शैलुङमा हामीले डाँडाहरु वा थुम्की÷थुम्काहरु गणनानै गर्ने हो भने पनि सो क्षेत्रमा १०० (सय) भन्दा बढी लुङहरु अर्थात थुम्का÷थुम्कीहरु भेट्टाउदछौे । जहाँ १०८ वटाभन्दा बढी साना ठूलो लुङहरु छन् ।

त्यस्तै कतिपय तामाङ गान्बा, ताम्बा, लामा तथा बोन्बोहरुको जनबोली र जनश्रुतीहरु अनुसार सा+लुङ=सालुङबाट (सा=भूमि+लुङ=थुम्का) अपभ्रंम्स हुदै शैलुङ भएको हो भन्ने भनाई छन् । यो भनाई यर्थातपरक पनि छ । किनभने तामाङ भाषामा “सा” भनेको तामाङ जाति तथा मानव जाति बसोबास गर्ने भूमि हो अथवा शाङ्गे वा ज्ञानी (शान्तिको मार्ग दर्शक, धर्म, दर्शन, ज्ञान, आध्यात्मिक र भौतिक संसारको वारेमा सिद्घी प्राप्ति व्यक्ति) बुद्घ अर्थात शान्तीका अग्रदुध भगवान गौतम बुद्घले पाईला टेकेको, ध्यान गरेको, ज्ञानभूमि । भने लुङ को अर्थ टुप्पो÷शिखर÷चुचुरो वा थुम्का÷थुम्की हो, त्यसोहुँदा भूमिको टुप्पो÷शिखर÷चुचुरो वा थुम्का÷थुम्की हो शैलुङ भनेको । न कि १०० (सय) वटा टुप्पो÷शिखर÷चुचुरो वा थुम्का÷थुम्की । त्यसैले पनि दोलखा दर्पण किताबमा लेखिएको र सान्तवीर लामाद्घारा लिखित ताम्बा काईतेन किताबमा उल्लेख गरेको कुरा व्यवहारिक एवं सत्यता र वास्तविकतामा आधारित छैन भन्दा अतियुक्ति नहोला ।

शाङ्गेलिङ, ताम्सालिङ र शाङ्गेलुङ हुँदै शैलुङ शब्दसँग अन्तरसम्बन्ध

तामाङ भाषामा लिङ र लुङ शब्द करिब उस्तै लागे पनि, यसको वास्तविक अर्थ के रहेछ भनी माथि नै चर्चा गरिसकेको छ । त्यसोहुँदा तामाङ भाषामै नम्गैलिङ भनेको आकाश प्रदेश वा आकाशगंगा हो भने जाम्बुुलिङ भनेको भूगोल प्रदेश वा पृथ्वी हो । नम्गैलिङमा लाह्युल हुन्छ भने जाम्बुलिङमा म्हीह्युल । ला भनेको देवता हो भने म्ही भनेको मानव÷मानिस÷मान्छे हो । त्यसैगरी ह्युल भनेको तामाङ भाषामा राज्य वा देश हो जुन तामाङहरुले गाउँभन्दा ठूलो भूगोललाई ईगिंत गर्दछ । त्यसैले आकाशगंगामा देवताको राज्य हुन्छ भनिन्छ । भने, पृथ्वीमा मानवको राज्य हुन्छ भनी तामाङहरुले बुझ्दछ । गाउँलाई तामाङ भाषामा “नाम्सा” भनिन्छ भने गाउँभन्दा सानो टोललाई “थान” भनिन्छ । त्यसोहँुदा थान वा टोलहरु मिलेर नाम्सा अर्थात गाउँ भन्दछन्, अनि नाम्सा अर्थात गाउँहरु मिलेर ह्युल वा राज्य भन्दछ भन्ने तामाङहरुको मानवशास्त्रीय÷समाजशास्त्रीय दर्शन हो ।

यद्यपी मानवशास्त्र तथा समाजशास्त्रीय दृष्टिकोणबाट भन्ने हो भने मानवसमाज देखि राज्यसम्मको विकास क्रम एक मानव केटा र केटीको विवाहबाट शुरु भई त्यसपछि परिवार हुँदै परिवारबाट नातासम्बन्ध शुरु हुन्छ, त्यसपछि समाजको । फेरि त्यो क्रमशः विकास हुँदै गई सामाजमा, अनि सो समाजको निश्चित ठाउँ र उत्पति अनुसार छुटाछुटै गोत्र (Clan) हुन्छ, Clan हरुबाट जन÷प्रजाति (Tribe), Tribe हरुबाट आदिवासी÷जनजाति (Nationalities), Nationalities हरुबाट जाति वा राज्य (Nation), Nation हरुबाट जातिय राज्य (Nation-State) मा रुपान्तरण र विकसित भएको हुन्छ र हुनेगर्दछ भनी उल्लेख गरेका पाईन्छ । अनि आदिवासी÷जनजातिले कविला गणराज्य संचालन गर्ने अवस्थासम्म पुगेको हामी इतिहासमा उल्लेख गरेको हामीले भेटाउदछौ । त्यसैगरी तामाङ जातिले पनि गणराज्य संचालन गरेको थियो, जुन तामाङहरुको ताम्सालिङ वा तामाङ प्रदेशमा पर्दथ्यो । फेरि ताम्सालिङ शाङ्गेलिङ भित्र पर्दथ्यो र पर्दछ । भने, ताम्सालिङ भित्र शाङ्गेलुङ पर्छ ।

हाल नेपाल राष्ट्र वा जाति (Nation) बन्ने प्रक्रियामा देखिन्छ । नेपालमा अहिलेसम्म शाषन सत्तामा बस्ने जातहरु जाति÷राष्ट्र (Nation) को रुपमा विकास हुदै गरेको अवस्था हो । बास्तवमा भन्ने हो भने नेपाल एउटा पूर्ण राज्य (State) को अवस्थामा अहिले पनि पुगिनसकेको अवस्थामा छ । त्यसो हुँदा ताम्सालिङ र शाङ्गेलिङ अनि शाङ्गेलुङ हुँदै शैलुङसम्ममा तामाङ भाषिक शब्द विकास हुँदा तामाङ जाति र भाषा अझ् भनौ मानव जातिको पहिचानको सवालमा शैलुङको ऐतिहासिक भौगोलिक विकासको सान्दर्भिकतामा झल्किन्छ अनि यथार्थ बिम्ब पनि भेटिन्छ ।

किम्बदन्ती रुपी यथार्थ जनश्रुतिमा आधारित विम्बहरु

यो शाङ्गेलुङ अर्थात शैलुङ शब्दसँग जोडिएका आध्यात्मावादी जस्ता लाग्ने तर वास्तविक ऐतिहासिक किम्बदन्ती रुपी यथार्थ विम्बहरु पनि जनश्रुतीका बोलीहरुमा सुन्न पाईन्छ भने फुटकर दस्तावेज रुपी किताबहरुमा पढ्न पाईन्छ यदाकदा । सोही बमोजिम यस स्थानमा शाङ्गे अर्थात बुद्घ भगवान पछि वहाँका चेला गुरु पद्म सम्भवले पनि करिब सातौ आठौ शताब्तीतिर ध्यान गरेको स्थानको रुपमा लिइन्छ । यहाँ १२ वर्षको एक चोटी बिशेष मेला लाग्दछ भने प्रत्यके वर्षमा गोने अर्थात जनै पूर्णिमाको दिन भव्य मेला लाग्दछ । सो मेलामा प्राय तामाङ तथा अन्य जातिका बोन्बोहरु, लामाहरु, मानिसहरु दोलखा, रामेछाप, सिन्दुपाल्चोक, काभ्रेपलाञ्चोक जिल्लाहरुबाट श्रद्घालुको रुपमा आउदछन् । अनि आफ्नो परिवारजनको कोही कसैको मृत्यु भएको भए मृतआत्माको चीर शान्तिको कामनाको लागि लामा गुरुहरुबाट मोलम पाठ गदै १०८ दीप वा म्हार्मेन म्राबा प्रज्वलन गरी ङो अर्थात बोधी प्राणीधन गर्ने प्रचलन पनि रहिआएको छ, भने बोन्बोहरु मौखिरुपमा आफ्नो ऐतिहासिक ईतिहासका कुरा, तामाङभाषामा “साछ्या नाम्छ्या” (पृथ्वीमानवको उत्पति) का कुरा, समग्रमा ज्ञानगुणका कुरा कैरान मौखिक रुपमा भट्टयाएर सबै लुङ वा थुम्का÷थुम्कीमा परिक्रमा गर्दछन् । त्यसो गरे आफूले जानीनजानी गरेको पापको प्रयाश्चित गरेमा मोक्ष प्राप्त हुने साथै मनले चिताएको पुरा हुन्छ भन्ने जनविश्वास रहेको पाईन्छ ।

एक किंबदन्ती अनुसार परापूर्वकालमा तीन देवी दिदी बहिनीहरु कालिञ्चोक, शैलुङ र महाङ्काल चरङगे खोलको छेउमा गएर बसेको थिए रे । अनि एउटा डाँफेले कालिञ्चोक डाँडा र शैलुङमा कुन चाहि. अग्लो रहेछ भनेर कालिञ्चोक देखि शैलुङतिर उडेछ तर शैलुङ नआईपुग्दै सो डाँफे शीलामा परिणत भएछ, अहिले सो स्थानमा डाँफेको प्रतिमुर्ति स्वरुपको ढुंङ्गा देख्न सकिन्छ । त्यसैगरी शैलुङमा बाघढुंङ्गा, नागढुंङ्गाद्घारा परिचित शीलाहरु पनि अहिले हामीले देख्न सकिन्छ । यस क्षेत्रमा रहेका ढुंङ्गाका ओडारहरुबाट दुध निस्कने गर्दछ, यसलाई बौद्घधर्म मान्ने विद्घान लामाहरु गोदावरी फूलको रुपमा लिन्छन् । त्यसो हुँदा १२ वर्षे गोदावरी मेला पनि यहाँको उल्लेखनीय मेला हो । यहाँ भएका ढुङ्गाका धर्मद्घार निकै प्रसिद्घ र लोकप्रिय छ कि पापीहरु सानो जिउको भएपनि छिर्न नसक्ने र धर्मात्माहरु ठूलो जिउको भएपनि छिर्न सक्ने विश्वास गर्दछ, त्यसकारण मानिसहरु आफूलाई पापी या धर्मात्माका रुपमा छुट्याउनका लागि ठूलो भिड लाग्दछ सो ठाउँमा मेला हुने वेलामा ।

अर्को प्रचलित किंबदन्ति अनुसार शैलुङका ती लुड अथवा थुम्काहरुमा पौराणिक समयमा शाङ्गे अर्थात बुद्घ भगवानका चेलाहरु बौद्घ भिक्षुहरु तपस्या गर्दथे कलीयुग शुरु भएपछि ती भिक्षुहरु कलीको अनुहार नहेर्नका लागि त्यही विलीन भएर उनीहरु आजको दिनसम्म पनि तपस्यामा लिन छन् भन्ने विश्वास मानिसहरुममा छ । त्यसैगरी भगवान बुद्घले सो स्थानको थुम्काहरुमा तपस्या गरी ज्ञान प्राप्त गरेकोले शाङ्गेलुङ भनियो उक्त स्थानलाई । भने, ज्ञान प्राप्त गरीसकेपछि स्थायी रुपमा नबसी त्यहाँबाट काभ्रेपालञ्चोकको “तेमाल” भन्ने ठाउँमा गई बगैचा बनाएको र बगैचामा बुद्घचित्तको बिरुवा रोपेको हुनाले तेमालमा अहिले पनि बुद्घचित्तको बोटहरु पाईन्छ भन्ने उक्ति बुद्घधर्मको ग्रन्थ कांङगु दंङ्गुर (त्रिपिटक) मा समेत उल्लेख गरिएको छ, भनी लामा गुरुहरुले भन्ने गरिन्छ ।

शाङ्गेलुङ अर्थात शैलुङको बहुआयमिक महत्व

शैलुङ धार्मिक, सांस्कृतिक, भाषिक र आर्थिक हिसाबको पर्यटकीय स्थल तथा जडीबुट्टीको भण्डार एवं खनिज पर्दाथको खानीको सम्भावना भएको, प्राकृतिक सुन्दरताले भरिपूर्ण मनमोहक भौगोलिक भू बनावट भएको पृथ्वीको वास्तविक स्वर्गरुपी ठाउँ हो । यहाँबाट ज्योमोलिङ को ज्योमोलुङ अर्थात् सगरमाथा (हिमालय श्रृंखला वा प्रदेश) अन्नपूर्ण, मनासालु, गणेश हिमाल, गौरीशंङ्कर, लाङटाङ, दोर्जेलाक्पा, रोलवालिङ, कञ्चनजंङ्गा श्रृंखलाहरुको दृष्य देख्न पाईन्छ । मानव समुदायको बसोबासको हिसाबले यो क्षेत्र वा प्रदेशमा आदिवासी जनजातिहरुमा तामाङ जातिको बहुसंख्यक रुपमा बसोबास गरेको पाईन्छ भने शेर्पा, मगर, थामी, माझी, भुजेल, आदि आदिवासी जनजातिहरुको बसोबास पनि उल्लेख्य रुपमा पाईन्छ । त्यस्तै गरि अरु जातमा क्षेत्री, बहुन, कामी, दमाईहरु पनि यो प्रदेश वा क्षेत्रमा बसोबास गरिएको भेट्टिन्छ । यो क्षेत्रमा कोणधारी जंगल पाउन सकिन्छ भने जंगलमा १५० प्रकारभन्दा बढीका जडीबुट्टीहरु पाउदछ । शैलुङ क्षेत्रमा रहेको थुम्कीहरुलाई करिब ३ महिना जति हिउँले ढाक्दछ । त्यतिवेला साँचै नै शान्तीका प्रतिक सेतो रंग भएको हुँदा उक्त रंगको पछेउरा ओडिएको तामाङ भाषामा “फोइसिंडा कार्बो” (पृथ्वीको सेतो देउता) शाङ्गे अर्थात बुद्घ भगवान सच्चिकै प्रकट भई आफ्ना सिस्सेहरुलाई ज्ञान दिई रहेको जस्तो देखिन्छ । काठमाण्डौको तत्कालिन अवस्थाको सुनधारा स्थितको धरहरा वि.सं. २०९० सालको भुकम्पले नभत्कीनु अघि शैलुङ क्षेत्रबाट देखिन्थ्यो, भनी बुबा बाजेहरुले भन्ने गर्नुहुन्छ आजकाल पनि । यस क्षेत्रमा ढुङ्गामा खोपिएका बुद्घ भगवानका मूर्ति, मन्त्र कुँदिएका शीलाहरु, तिर्थयात्रीहरु बस्ने एवं पूजा गर्ने धर्मशालाहरु, २७, २८ वटा जति बौद्घ स्तुपाहरु अर्थात मानेहरु भग्नावशेषका रुपमा परिणत हुँदै छ दिनानुदिन । त्यसैले राज्यले यो क्षेत्रको बेलैमा संरक्षण र सम्बर्धन गर्नुपर्दछ । यदि बेलैमा राज्यले त्यसतर्फ ध्यान दिए शाङ्गेलुङ अर्थात शैलुङको बहुआयमिक महत्व हुने प्राय निश्चित छ ।

पिधमा 

“शैलुङ”को वास्तविक अर्थसँग तामाङ पहिचान, जाति, भाषा, धर्म र संस्कृतिको यर्थाथ ऐतिहासिक विम्बहरु मात्र लुकेको नभएर, शाङ्गेलिङको शाङ्गेलुङ अर्थात शैलुङ, अनि त्यस लिङ÷श्रृंखला÷प्रदेश÷क्षेत्र भित्रका ताम्सालिङ मात्रै पनि लुकेको नभएर नेपालकै केन्द्रिय मियो यनीकि मनी, बनजंगल भित्रको जडिबुडी, फलाम, मट्टितेल, डिजेल, प्याटोल, तामा, नुन जस्ता खनिजहरुको खानी पनि लुकुको यथार्थ हो शैलुङ ।

सन्दर्भ सामाग्रीहरु
१. किताब, जिक्तेन ताम्छोई, श्री बुद्धिमान  मोक्तान, १९५६
२. किताब, तम्बाकाईतेन, श्री सान्तवीर लामा, १९५७
३. किताब, दोलखा दर्पण,
४. किताब, Treasures of Dolakha, 2010-VoII
५. किताब, मेचीदेखि महाकाली भाग २,
६. Trekking In the Everest Region-Jamie Meguinness
७.www.dolakhatamang.com
श्रोत व्यक्तिहरु
८.तामाङ लामाहरु, श्री ङावाङ लामा, साङ्गे लामा
९. तामाङ बोन्पो ८० बर्षे श्री नारायण लामा मोक्तान,
१०. पासाङ्ग क्यू शेर्पा लामा
११. तामाङ बोन्पो ८४ बर्षे हस्तबहादुर लामा मोक्तान
१२ शिक्षक एवं समाजसेवी श्री मकर लामा मोक्तान
१३ राजनीति कर्म एवं समाजसेवी श्री हिरा थोकर ।

[email protected]
घ्याङ–५, दोलखा, उर्लिनी हाल काठमाण्डौ

Leave a Reply