“कहिले सम्मा सहने दाइजोको बाहानामा यातना ? “

492

बिहानै देखि मन कताकता बहकिएको थियो। एक्लोपन सधैं त बाबाको फोन आउने गर्थ्यो अब त्यो पनि हरायो। हुन त यस धर्तिमा पाईला टेक्न पाउनुलाई नै भाग्यमानी सम्झन्छु। जीवनमा आइपर्ने ती कठिनाइका बाबजुद पनि चुनौतिहरूको सामना गर्दै मानव भएर जन्मनुको अर्थलाई पुष्टि गर्न सक्नु पनि जीवनको एउटा महत्त्वपूर्ण पाटो जस्तै लाग्छ ।

सदा जस्तै यसपालीको दशैंले पनि बिदाईका हात हल्लाउँदै थियो।मन त अझै अमिलो नै थियो।साधारण जीवनशैली र शान्त वातावरणमा रमाउने म कुनैकुनै बेला त आँफूलाई बसमा राख्न पनि हम्मेहम्मे परेको महसुस गर्दथे।दिन ढल्कदै थियो आफ्नै पारामा।बेलुकीको काम सकेर सुत्ने प्रयास नगरेकी त होइन।तर निद्रा पनि आफूले भनेको बेला फ्याट्ट आइदिने भए त दिमाग सधैं स्वस्थ्य नै रहन्थ्यो होला !

आँखाहरू यताउता नियाल्न थालिरहे । यत्तिकैमा फेसबुक खोलेर हेर्दै गए एक्कासि “१३ बर्ष देखि चरम यातना भोग्दै आएकी गीता “यस्तो शिर्षक देखे । नारीका पीडामा विशेष ध्यान जाने मेरा नजर त्यहीँ शिर्षकमा पुगेर टक्क रोकिए । खोले बिस्तारै नजरहरू दौडिन थाले । नजर फेरि यिनै शब्दमा गएर अड्किय –ससुरा ,नन्द र अमाजुले बाँच्न नदिने भए बिबाह भएको बर्ष देखि कुटपीटको नेतृत्व सासुले गरिन् अहिले ससुरा पनि अगाडि बढेपछि गीतालाई कुनै पनि बेला मार्ने हुन कि भय हुन थाल्यो ।

नजरले झनै रफ्तार लिँदै सँगै रहेको तस्बिरको दृश्यमा ठोक्किन पुगें। एक्कासि गगनबाट झरे जस्तो महसुस भयो।नयनले भ्रम त दिएनन्।केहीबेर घोरिएर हेरे।तिनै गिता जसको बारेमा बेलाबेला सुन्ने गरेकी थिए तिनै गिता ओ यो हुन सक्दैन। पढ्दै जाँदा फेरि अर्को ठाँउमा रोक्किए मेरा नजरहरू !

मनमा एकप्रकारको छट्पटाहटले छायो,एकाएक पसिना र चिडचिडाहट छायो।उनलाई सम्पर्क कसरी गरौँ । अवाक बने दिमाग चलेन केहीबेर शरीर पनि शिथिल बन्यो । धेरै प्रकारका कुराहरूले मनमा डेरा जमाउन थाले । सबैतिर सम्पर्कको लागि कोसिस गरे । तर उनिसँग सम्पर्क हुन सकेन । सम्पर्क हुनु पनि कसरी ? उनिसँग मोबाइल पनि साथमा नभएको कुरा जानकारी पाए ।

उनको मोबाइल पनि अरूकै कब्जामा रहेको खबरले मलाई झनै गार्‍हो भयो। रातको १२ बज्न लागिसक्यो कसरी सम्पर्कमा ल्याउनी उनलाई ? कताकता प्रयास गर्दागर्दै एउटा मोबाइल नम्बर मेरो हातमा पर्यो। फोन गरे हेल्लो म माया मलाई चिन्यौ म काठमाडौंबाट । हजुर चिने उताबाट आवाज आयो । मैले सबै बुझ्ने प्रयास गरे।

उनी विगत १३ वर्ष देखि बिबाह बन्धनमा बाँधिएको माइती पाल्पाको माडी र घर देबदह ,रुपन्देही जिल्ला, पिपरैया निबासी ३५ बर्षीया गीता अर्याल भट्टराईले बिबाह भएकै वर्षदेखि परिवारबाट चरम यातना भोग्दै आएको कुरा बताइन ।
बिबाह भएको बर्ष देखि दाइजो कम भएको बहानामा उनले यातना सहदै आएकी छन । पहिले पहिले श्रीमान, नन्द अमाजुले कुटपीट गर्ने गर्थे भने पछिल्लो समयमा ससुरा हरिप्रसाद भट्टराई पनि सहभागी हुँदै आएको कुरा स्पष्ट रूपमा देख्न सकिएको छ।
रुपन्देहीको देबदह नगरपालिका शितलनगरमा बस्दै आएकी गीता परिबारबाट निकै कुटपीट हुन थालेपछि गत बर्ष देखि अर्को ठाउमा रहेको घरजग्गामा गएर बस्न थालेकी थिइन । उनी कामका अलवा ११ वर्षीय बच्चा(छोरी)को  पनि रेखदेख गर्दै आएकी थिइन ।

गत एक हप्ता अगाडि उनी बसेकै ठाउमा पुगेर ससुरा हरिप्रसाद भट्टराई , नन्द अश्मिता र नमिता मिलेर शरीर भरि नील डामै डामै हुने गरी कुटेपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन । पटकपटक प्रहरी पनि गिताको घरमा मिलाउन नगएका होइनन् । यसपालि पनि उनलाई पहिला जस्तै मिलापत्र गराउन प्रहरीले बोलाएका पनि थिए । तर बिगतमा धेरै पटक मिलापत्र गरेको र कुटपीट गर्ने छैन भनी प्रतिबद्धता गरेको भएपनि त्यो ब्यवहारमा कार्यान्वयन नभएको कारण उनले यस पटक मिलापत्र गर्न भने मानिनन्।

राष्ट्रिय बाणिज्य बैकबाट सेवानिबृत्त भएका र हाल सरस्वती सेकेण्डरी बोर्डिङ स्कुलका अध्यक्ष समेत रहेका हरि भट्टराई स्थानीय नेकपाका चल्तापुर्जा मान्छे पनि हुन । उनी चल्ता पुर्जा भएकै कारण गीताका श्रीमानले गरेको दोस्रो बिबाहलाई वडा कार्यालयले बिबाह दर्ता गर्ने काम पनि गरेको थियो । बडा कार्यालयले बहुबिबाहलाई मान्यता दिएपछि गीताले न्याय खोज्न कानुनी बाटो अबलम्वन गरि बहुबिबाह र अंश मुद्धाको प्रक्रिया अगाडि बढाइन ।

अंश मुद्धाको टुंगो नलागेसम्मका लागि जतिपनि जग्गाजमीन छ त्यो बेचबिखनको काम रोकियो । जब बेचबिखन रोकियो त्यसपछि ससुरा भट्टराई र उनको परिबार क्रुर हुदै आएको गीताले बताएकी छन । एक हप्ता अगाािड परिबारको कुटपीटबाट जोगिन उनि टाढाको एक्लो घरमा छोरीसंग बस्दै आएकी थिइन्। त्यहीँ घरमा आएर ससुरा लगायत घरका अन्य सदस्यहरू आई अष्टमीका दिन चरम रुपमा कुटपीट गर्ने कार्य गरेको कुरा उनले बताएकी छन्।

उनको शरीरमा रहेका निलडामले पनि यो कुरालाई प्रमाणित गरेका छन् । खेतीको निहुमा पुगेका ससुरा भट्टराई , नन्द अश्मिता , अमाजु नमिताले ढाड, दुबैे खुट्टा देखि माथि सम्म , दुबै हात , मुख , टाउको जहां जहां हुन्छ एक साथ कुटपीट गरेका कारण अहिले शरीर चलाउनसम्म गार्‍हो परेको कुरा गिताले बताएकी छन् । उनलाई यसरी कुटपीट गरि ११ बर्षिया छोरीलाई पनि जबर्जस्ती उनीहरुले लिएर गएको कुरा गीताले बताएकी छन ।

हो तिनै गिता उनको निलडाम सहितको फोटो देख्ना साथ मेरा नजर वरिपरि पहिला देखि तिनले पाएका यातनहरूमेरो मानसपटलमा यादगर बनेर बसेका थिए।मनमा एक किसिमको छट्पटी नै हुन थाल्यो र मलाई धेरै तर गार्‍हो भयो । आवाज सुनेपछि आफूलाई मोबाइल नदिएको छोरी पनि उनक नभएको गाउँम एक्लो घरमा एक्लै बसेको कुराले मलाई झनै पिरोल्न थाल्यो।सम्झाए यसरी एक्लै नसुत तिमीलाई राति आएर कसैले मार्न सक्छन् ।

कुनै छिमेकीको घरमा आश्रय लिएर बस कि कसैलाई साथी बोलाऊ भन्दै सम्झाए विचरा बिबह भएदेखि दाइजोको नाममा चरम यातना भोग्दै आइएकी श्रीमानको माया पाउनु घर परिवारको माया पाउनु त कहाँ हो कहाँ।श्रीमानको मायाको आस कुन नारीलाई हुँदैन,घर परिवारको माया पाउने आस कुन नारीलाई हुँदैन,सन्तानको माया कुन नारीलाई हुँदैन।श्रीमान लगायत घरका सम्पूर्ण परिवारको थिचोमिचो,मानसिक र शारीरिक यातना भोग्दै आफ्नो माइतीको इज्जत बचाउन त्यहीँ घरको यातना सहदै संघर्ष गर्दै थिइन।

दैवको खेल नौ महिना अगाडि श्रीमान गुमाएर अर्को चपेटामा परिन्।यातनाले झन बढ्दो गति लिँदै गयो।मृत्युसँगै क्रिया गर्ने बेलामा छोरो र गर्भमा बच्चा सहितकी सौता उपहार पाईन।कस्तो भयो होला त्यो क्षण।जो जेठी अमाजुले काम गर्ने मान्छे हो भनेर विगत केही वर्ष अगि देखि राख्दै आउनु भएको रहेछ।तर कुरा यस्तो हुन आयो।नेपालमा बहु-बिबाह गर्न पाईँदैन भन्ने कानुनले पनि फेल खायो यतिबेला।

एउटी श्रीमति हुँदाहुँदै कसरी गरियो अर्को बिबाह दर्ता,कस्ले गर्यो यो बिबाह दर्ता के अब यिनीहरूलाई सजाय हुनुपर्छ कि पर्दैन होला!यदि पर्छ भने को-कस्लाई कस्तो खालको सजाय हुनुपर्छ।अझै नारीले कहिलेसम्म यी र यस्तै अन्यायहरू सहन पर्ने हो,दाइजोको बहानामा कतिले ज्यान गुमाउन पर्ने हो,कतिले यातना भोग्नु पर्ने हो?

मलाई यतिबेला हेटौंडाको घटनाले झस्कायो श्रीमानको मृत्यु पछि ससुरा र नन्दहरूको आक्रमणबाट मारिएकी तिनै चेलीको याद आयो।सम्झदा पनि आङ्ग जिरिङ्ग भएर आयो।कसोकसो बाँच्न सफल भइछन् गिता।हो अब बचाउँनु पर्छ गितालाई यिनले १३वर्षसम्म सहेका ती यातनालाई त म शब्दमा बयान गर्न सक्दिनँ।यति भन्न चाहान्छु।

गिता उनै पात्र हुन जसले यो पीडा १३ वर्षेदेखि भोग्दै आएकी छन् । यो वास्तविक घटना भएको जानकारी यहाँहरूलाई गराउन चाहे।साँच्चै नारीको जीवन कति दयनीय छ अझै पनि!बुटवल जस्तो सुगम ठाँउमा एउटा डिग्री गरेको नारी माथीको अत्याचार यो त एउटा उदाहरण मात्रै हो भित्र-भित्रै नारीहरू घरेलु हिंसाको चपेटामा नै छन्।

कहिले माइतीको इज्जत जोगाउनको लागि सहनुपर्छ,कहिले श्रीमानको खुसीको लागि त कहिले बच्चाको मायाले गर्दा विभिन्न किसिमका यातना सहदै पिल्सिएर बाँच्नु पर्छ।कहिले आफन्त- बाटै बलात्कारको शिकार हुनुपर्छ त कहिले बलात्कारको शिकार भइ ज्यान गुमाउनु पर्छ,कहिले एसिडको चपेटा,कहिले दाहिजोको बाहानामा जलाएर मारिन्छन् त कहिले सन्तानको हातबाट मारिनु पर्छ।धिक्कार लाग्छ न त घर भित्र सुरक्षित छ न बाहिर!

कस्तो बिडम्बना सृष्टिको सृजना गर्ने नारीको महत्त्व कहिले बुझ्छन् यस्ता नरपिचासहरूले। कहिले आउँछ सद्बुद्दि हे भगवान ! मान्छे मरिसकेपछि आँसु देखाउने काम बन्द गरौँ । जिउँदो हुँदा उसको दुखमा आँसु पुछ्ने र समस्याबाट माथि उठाउँदै पीडितलाई आवश्यक सहयोग गरौँ । पापीहरूलाई निष्पक्ष रूपमा कडा भन्दा कडा कारबाहीको दायराभित्र राखौं।

Leave a Reply