१००० को नयाँ नोट बजारमा चल्तीमा ल्याउदै |

143
  • 1
    Share

२०२६ सालदेखि प्रचलनमा आएको हजारको नोटमा अब भने नेपालकै हात्ती राखिने भएको छ। राष्ट्र बैंकले साविकको एउटा हात्तीको सट्टा ‘राम र लक्ष्मण’ भनी चिनिने दुर्लभ जुम्ल्याहा हात्तीको चित्र रहेको नयाँ हजारको नोट जारी गर्ने जनाएको छ। बुधबारबाट चलनचल्तीमा आउने नयाँ नोटको आकार र रंग भने पुरानै जस्तो हुनेछ।

२०६५ कात्तिक २४ गते चितवन राष्ट्रिय निकुञ्जस्थित सौराहामा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा देवीकली नामको हात्तीले एकैपटक दुइटा छावा जन्माएकी थिइन्। विज्ञहरूका अनुसार यसरी हात्तीले जुम्ल्याहा बच्चा पाउने घटना विश्वमै दुर्लभ हुन्छ।

चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. भीषण गजमेरका अनुसार जनावरको शारीरिक बनोट जति ठूलो भयो, त्यति जुम्ल्याहा बच्चा जन्मिने सम्भावना कम हुन्छ। यसरी जुम्ल्याहा छावा जन्मेको थोरै मात्र घटना छन्। नेपालमा पनि जुम्ल्याहा छावा जन्मेको यो पहिलो हो।

जुम्ल्याहा जन्मिहाले पनि बाँच्ने सम्भावना एकदम कम रहने विज्ञहरू बताउँछन्। तर, देवीकलीले चमत्कार गरिन्।उनले जन्माएकी ‘राम-लक्ष्मण’ जुम्ल्याहा छावा अहिले तन्नेरी भइसके। राम जन्मिएको तीन घन्टापछि लक्ष्मण जन्मिएका थिए। अहिले यी दुइटै छावा चितवन राष्ट्रिय निकुञ्जमा छन्।

राम-लक्ष्मण दुवैले जंगलको गस्ती गर्न सुरू गरेको चार वर्ष भइसक्यो। ‘सानो भएकाले राम-लक्ष्मणलाई नियमित जंगल पठाउँदैनौं। सातामा एकचोटि नजिक-नजिकै लान्छौं,’ हात्ती प्रजनन तथा तालिम केन्द्रका शाखा अधिकृत बुधन चौधरीले भने। राष्ट्र बैंकले हजारको नोटमा जुम्ल्याहा हात्तीको चित्र राख्ने निर्णय गरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राम-लक्ष्मणको फोटो पठाएको थियो।नयाँ आउने हजारको नोटका डिजाइनर सुन्दर श्रेष्ठ हुन्।

कस्तो छ नोटको डिजाइन?

यो नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र छ। दायाँतर्फ ४ मिलिमिटर चौडाइ भएको चलायमान ‘एनआरबी’ र ‘१०००’ अंकित सुरक्षण धागो छ। दायाँतर्फ हजार दरको नोट जनाउने अंग्रेजी अंकको केही अंश छ।नोटको दायाँतर्फ लालीगुराँस र हजार दरको नोट जनाउने पानीछाप छ। यसमा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी हजार अंक जनाउने रोमन अक्षर ‘एम’ पनि लेखिएको छ।यो नोटमा तत्कालीन गभर्नर चिरञ्जीवि नेपालले हस्ताक्षर गरेका छन्। नोटको तल्लो भागको बोर्डमा नोटको सिरिज नम्बर र विक्रम सम्बत् २०७६ लेखिएको छ।’राम-लक्ष्मण’ को चित्र भने नोटको पृष्ठभागमा छ।

Leave a Reply