चिनियाँ कम्पनीले सुरु गर्‍यो यूएईमा कोरोना विरुद्ध खोपको तेस्रो चरणको परीक्षण

1125

 काठमाडौं । चिनियाँ फर्मा कम्पनी सिनोफर्मले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण सुरु गरेको छ । कम्पनीले यूएईको आबुधाबीमा १५ हजार स्वयंसेवकहरुमा यो खोपको परीक्षण सुरु गरिएको आबुधाबीको स्थानीय सरकारले जानकारी दिएको छ ।

कोरोना भाइरसविरुद्धको खोपको मानव परीक्षण सिनोफर्मको चाइना नेशनल बायोटेक ग्रुप, आबुधाबीको कृत्रिम बौद्धिकता र क्लाउड कम्युटिङ कम्पनी ग्रुप ४२ (जी४२) र आबुधाबीको स्वास्थ्य विभागको सहकार्यमा भइरहेको हो ।

बुधबार खोपको तेस्रो चरणको परीक्षण सुरु भएको हो । अहिलेसम्म व्यावसायिक प्रयोजनका लागि कोभिड–१९ को कुनै खोपले अनुमति पाएको छैन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अहिले २३ कोरोना विरुद्धको खोपको मानव परीक्षण सुरु भइसकेको छ । जसमध्ये तीनओटा खोप तेस्रो चरणको परीक्षण सुरु गर्ने तयारीमा वा परीक्षणको क्रममा छन् ।

अहिले सुरु भएको परीक्षणमा स्वयंसेवकहरुलाई खोपको पहिलो डोज दिएको तीन सातापछि दोस्रो डोज दिइने यूएईको कोभिड–१९ क्लिनिकल म्यानेजमेन्ट कमिटीका प्रमुख नवाल अल्काबीले बताए ।

यूएईमा दुई सय विभिन्न मुलुकका मानिसहरुको बसोबास रहेका कारण सिनोफर्मले आफ्नो परीक्षणको लागि यूएई छनोट गरेको हो । सिनोफर्मले यसअघि गरेको पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणमा शतप्रतिशत स्वयंसेवकहरुमा २८ दिनमा कोरोना भाइरसविरुद्धको एन्टिबडी विकास भएको बताइएको छ ।

चीनमा कोरोना भाइरसका सक्रिय संक्रमित निकै कम भएको कारण चिनियाँ कम्पनीले अन्य मुलुकमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण गरिरहेका छन् । अर्को चिनियाँ कम्पनी सिनाभाक बायोटेकले ब्राजिलमा कोरोनाभाइरसविरुद्धको खोपको तेस्रो चरणको परीक्षण गरिरहेको छ ।

स्रोत : रोयटर्स

Previous articleविदेशमा अलपत्र परेकालाई अब सरकारी खर्चमा उद्धार गरिने
Next articleउनकै निजी सहयोगी द्वारा पठाओका सह-संस्थापकको हत्या |

Leave a Reply