बौद्ध तेमाल जात्राको सम्पूर्ण तयारी पूरा

135

काठमाडौं– बौद्धनाथ क्षेत्र विकास समितिले पत्रकार सम्मेलन गरेर (बौद्धमा, वैशाख ५) जात्राको तयारी पूरा भएको जानकारी गराएको छ । बौद्ध तेमाल जात्राको सम्पूर्ण तयारी पूरा भएको उक्त पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो ।

राष्ट्रिय पर्वको रुपमा मनाउनका लागि बाौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा विभिन्न संघसंस्था, गुठी, क्लव, र स्थानीय समाजसेवी बुद्धिजिवीहरुको सहभागितामा ‘राष्ट्रिय पर्व बौद्ध तेमाल जात्रा मूल व्यवस्थापन समिति’ गठन भएको छ । ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक महत्व बोकेको यस पर्वलाई यसवर्ष पनि चैत्त पूर्णिमाको अघिल्लो दिन भव्य र सभ्य रुपमा मनाउने जनाएको छ ।

बौद्ध तेमाल जात्रामा विशेषगरी तामाङ समुदायले आफ्ना दिवंगत आत्माहरुको चीरशान्तिका लागि बौद्ध महास्तूपमा छ्योमिबत्ती बाल्दै लामा गुरुहरुद्धारा विशेष पूजापाठ (ङोवा÷मोन्लम) गरी मनाउने गरिन्छ ।

यस जात्राको साँस्कृतिक गरिमालाई व्यापक रुपमा प्रचार प्रसार संरक्षणमा सबैको दायित्व भएको समितिका प्रमुख कार्यकारी निर्देशक बसन्त लामाले बताए । बौद्ध तेमाल जात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउने तयारी हो ।

नेपाल सरकारद्धारा यस बौद्ध तेमाल जात्रालाई राष्ट्रिय पर्वको मान्यता प्रदान गरिसकेको छ । बौद्ध तेमाल जात्रा तामाङ समुदायको धार्मिक एवम् साँस्कृतिक पहिचानको रुपमा रहेको जीवन्त पर्व हो । जात्रामा भक्तजनहरुलाई बौद्ध स्तुपा परिसरमा त्रिपालको व्यवस्था गरिएको छ । घ्योई लिसाङ शान्ति वाटिका, बौद्ध स्तूप परिसर र समितिको कार्यालय मुनी रहेको शौचालयहरु प्रयोग गर्ने व्यवस्था गरिएको छ ।

निः शुल्क स्वास्थ्य शिविरको व्यवस्था, रक्तदान कार्यक्रम, लामा गुरुहरुबाट ङोवा मोन्लम गराउने गरिएको छ । यस वर्षको जात्रामा स्तुपमा बत्ती बाल्न र पूजा गर्न लाइनको व्यवस्था गरिएको छ । श्रद्धालु भक्तजनहरुको निम्ती बौद्ध तामाङ कल्याण गुठीको प्राङगनमा प्रसाद वितरणको व्यवस्था गरिएको छ । विभिन्न संघ संस्थाले निः शुल्क पिउने पानीको व्यवस्था गरिएको छ । जात्रामा धुम्रपान र मध्यपान गर्न निशेध गरिएको छ ।

तेमाल जात्रामा विगतको दिनमा तेमाल क्षेत्रका तामाङहरु आउने हुनाले यस जात्राको नाम तेमाल जात्रा रहन गएको हो । बौद्ध तेमाल जात्राको दिन आफ्ना दिवंगत पितृहरुको स्मरणमा दियो बत्ती बाल्दै (ङोवा मोन्लम) गर्नाले आफ्ना पितृहरु षङ्गतिमा पर्दैनन र अर्को जुनीमा सुख भएको ठाउँमा जन्मिन्छन भन्ने धार्मिक विश्वास रहेको पाइन्छ ।

यसै जात्राको अवसरमा बौद्धमा पूजापाठ गरेर चैत्र पूर्णिमाको दिन बालाजु बाईस धारामा स्नान गर्दै स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ गरी तेमाल जात्राको विर्सजन हुने ऐतिहासिक किवदन्ति छ । यस जात्रालाई बौद्ध जात्रा समेत भन्ने गरिन्छ । पछिल्लो समय यसलाई बौद्ध तेमाल जात्रा नामकरण गरिएको छ । हाल यस जात्रामा काभ्रेको तेमाल लगायत दोलखा, रामेछाप, मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, धनकुटा, भोजपुर, सर्लाहि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट तामाङहरु आउने गरेका छन् ।

बौद्ध किवदन्ती अनुसार सत्ययुगमा विपश्वी बुद्ध काठमाडौं उपत्यकामा आएर नागर्जुन डाँडामा साधना गरेका थिए । उनैले ऋषी शक्तिले चैत पूर्णिमाको दिन काठमाडौं उपत्यकाको दहमा एक कमलको बिज रोपेको थियो । सोही कमलको फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको कथन पाइन्छ । यसरी विपश्वी बुद्धले कमलको विज रोपेको स्मरणमा तेमाल जात्रा प्रारम्भ भएको मानिन्छ ।

दिवंगत व्यक्तिहरुको शीघ्र बुद्धत्व प्राप्त गरोस भनी गरिने प्रार्थना वा प्राणिधानलाई मोन्लम भनिन्छ । विशेष गरी बुद्ध प्रतिमा र स्तुपहरुको सामु दुई हात जोडि मोन्लम गरिन्छ । बौद्धमार्गीहरुले सबे सत्व प्राणिहरमा सुखशान्ति छाओस र मृत्यु पश्चात सुखवती भुवनमा जन्म लिन पाओस भनी ङोवा मोन्लम गर्नु आवश्यक छ । बौद्ध महास्तूप धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्व र विशेषता बोकेको स्तुपा हो । सन् १९७९ मा युनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो ।

यसरी शुरु भएको थियो तेमाल जात्रा
विं.स.१८९१ असोज २ तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले तेमाल जात्रालाई राजकीय चाडको मान्यता दिएको थियो । उनले जात्रालाई सम्पन्न गर्न जनतालाई पठाउने गरेको जनश्रुति समेत पाईन्छ । साथै अर्को किवदन्ति अनुसार बौद्ध स्तूपाको जीर्णोद्धारा कार्य सम्पन्न भएको खुशीयालीमा तेमालका तत्कालिन राजा बलले तेमाल जात्रा चलाएको पाइन्छ ।

बौद्ध मार्गिहरुले यस स्तुपलाई झ्यारुङ खस्योर छयोर्तेन भन्दछन । यस स्तूपाको गर्भमा काश्यप बुद्धकोअस्तुधातु राखिएको छ । अष्ट मण्डलकारको यो महास्तूप नेपाली वास्तुकलाको अनुपम उदाहरणको रुपमा रहेको छ । यस महास्तूपलाई चिन्तामणिका प्रतिक मानिन्छ । जसको सामु शुद्धचित्तले प्रार्थना गर्नाले मनले चित्ताएको कुरा पुरा हुने धार्मिक विश्वास छ । यस स्तुपाको बारेको सुनेकै भरमा पनि यसले आफ्नो चित्तमा बोधिचित्तको बीच उत्पन्न गरेको हुन्छ ।

यस स्तुपको दर्शन गर्ने प्राणीले दुर्गतिमा कदापि जन्म लिनुपर्ने छैन । यस स्तुपमा दुई अन्जुली बाँधेर नमस्कार गर्ने सबै सदभार्गमा लाग्नेछन । परिक्रमा गर्ने सबै परिश्रम बिना नै सिद्ध हुने छन् । पुष्प चढाउने सबैले ऐश्वर्य र बैभव परिपूर्ण मनुष्य शरीर पाउने छन् । धुप चढाउने सबैले विशुद्ध शील प्राप्त गर्नेछन्, घ्यू बत्ती चढाउने सबैको ज्ञानकारुपी अन्धकार नाश भएर जानेछन् । जल चढाउने सबैले मानसिक, अशान्ति र पीडाबाट छुटकारा पाउनेछन् । मण्डल चढाउने सबैले पूर्ण सम्भार, ज्ञान सम्भार लक्षणहरु प्राप्त गर्ने छन् ।

Leave a Reply