काठमाण्डौसहित देशभरिकै मौसम डरलाग्दो , जनजीवन त्रसित, सचेत रहन आग्रह

373

काठमाडौं,  काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज एकाबिहानै ठूलो असिना र हावाहुरीसहितको भारी वर्षा भएको छ । असिनाले घर नमज्जाले पिटेको छ । घरमाथी असिना बजारिएको आवाज र मेघ गर्जनले सबै मानिस बिहानै उठेका छन् । केही छिन चहलपहलपनि देखिएको छ ।

नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको छ ।

के भन्छन मौसमविद् ?

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार अहिले पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव देखिएको छ । जसका कारण शनिबार मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

पोखरा आसपास विकसित भएको प्रणाली काठमाडौं हुँदै पूर्व्तिर सरिसकेको छ । पोखरादेखि पूर्व्तिरको मौसममा खराबी देखिए पनि पश्चिमी क्षेत्रको मौसममा खासै प्रभाव नपरेको मौसमविद् पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार शनिबार छिनमै मेघ गर्जनसहित पानी पर्ने र लगत्तै घाम लाग्ने देखिन्छ । उनले भनिन्, ‘यो प्रणालीले पोखरादेखि पश्चिमका क्षेत्रमा खासै असर नगर्ने भए पनि प्रि–मनसुनमा छिनछिनमा मौसम परिवर्तन हुने भएकाले पानी पर्ने सम्भावना कायमै रहन्छ ।’

मौसमविद् पोखरेलका अनुसार तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान आंशिक बदली रहनेछ ।

देशको पश्चिमी तथा मध्य भूभागका केही स्थानमा र पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जने र चट्याङसहित हुरी बतासका साथ वर्षाको सम्भावना रहेको छ । साथै हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुनसक्नेछ । पूर्व र मध्य तराईका भूभागमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।-राजधनी दैनिक

Leave a Reply